- ३० भाद्र २०८०, शनिबार ०८:५६
काठमाडौंको तीनकुनेस्थित एक स: मिलमा धारिलो हतियार प्रहारबाट ४ जनाको हत्या भएको छ ।
तीनकुनेको गैह्रीगाउँस्थित दिव्य स: मिलमा एकै घरका ३ जनासहित ४ को हत्या गरिएको अवस्थामा गए राति भेटिएको प्रहरीले जनाएको छ । ‘४ जनाको हत्या भन्ने आएको छ’, केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले भने, ‘त्यो एउटा स: मिलमा भनेको छ । प्रहरीले अनुसन्धान गर्दैछ ।’ काठमाण्डौं उपत्यका प्रहरी परिसरकाअनुसार घटना शुक्रबार राति घटेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले घटनाकोबारेमा थप जानकारी दिँदै भने, ‘४ वटा शव बरामद भएको छ । २ जना महिला र २ पुरुष भन्ने छ । यो हिजो राति ११ : ५५ को घटना हो ।’ घटना भएको जानकारी पाएलगत्तै प्रहरीको अनुसन्धान टोली घटनास्थलमा पुगेको पनि उनले बताए । प्रवक्ता मैनालीका अनुसार उक्त घटनामा संलग्न रहेको आरोपमा एकजनालाई नियन्त्रणमा लिइएको छ । ‘पोस्टमार्टमको लागि ४ वटै शवलाई त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ’, उनले भने ।
घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको छ । घटनास्थल काठमाडौंको तीनकुनेबाट एयरपोर्टतर्फ मोडिने ठाउँमा अन्नपूर्ण पोष्टको कार्यालय नजिकै रहेको छ । हत्या भएको फर्निचर उद्योग भित्री गल्लीमा नभई मुख्य बाटोसँगै जोडिएको छ । एकतल्ले टिनको छाप्रोभित्र चिरानी काठहरु थुपारिएका छन् ।
स्थानीयका अनुसार त्यहाँ राति कुनै हल्लाखल्ला सुनिएको थिएन । मृतकमध्ये दोलखाका करिब ५५ वर्षीय कुमार भुजेल, पत्नी अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल र आमा ७६ वर्षकी शुभद्रा भुजेल काठ मिलमै बस्थे र राति मिलको रेखदेख गर्थे । अर्का मृतक मोरङ बेलबारीका नवीन राई भने बास बस्न आएको हुन सक्ने स्थानीयको अनुमान छ ।










प्रतिकृया दिनुहोस्