- ६ भाद्र २०८०, बुधबार २२:१३
सरकारले रोजगार बढाउने गरी प्राविधिक शिक्षामा जोड दिँदै आएको छ। तर, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)अन्तर्गतका प्राविधिक विषयको अवस्थालाई हेर्ने हो भने यस क्षेत्रमै विद्यार्थी अभाव देखिएको छ ।
सीटीईभीटीको प्रमाणपत्र तह इन्जिनियरिङ र कृषि वन विषयमा ३३ हजार ७ सय भर्ना क्षमता रहेकोमा ३५ प्रतिशत विद्यार्थीले मात्र प्रवेश परीक्षा दिएका छन् । यसले सीटीईभीटीका धेरै शिक्षण संस्थाकै अस्तित्व जोखिममा देखिएको छ ।
प्राविधिक शिक्षामा सबैभन्दा पुरानो र विद्यार्थीको चाप अधिक हुने बालाजु प्राविधिक शिक्षालय अहिले विद्यार्थी खोज्नुपर्ने अवस्थामा छ । प्रमाणपत्र तहको सिभिल तथा इलेक्ट्रिकल बाहेक मेकानिकल, अटोमोबाइल, मेकाट्रोनिक्स र बायोमेडिकल इन्जिनियरिङका भर्ना क्षमताभन्दा निकै कम विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।
४८ जना भर्ना क्षमता रहेको बायोमेडिकलमा ५ र मेकाट्रोनिक्समा ३ जना मात्र प्रवेश परीक्षामा सहभागी भएका छन् । भर्ना क्षमताको ५० प्रतिशतभन्दा कम विद्यार्थी भए पठन पाठन नै नहुने व्यवस्था छ ।
सीटीईभीटीअन्तर्गतका आंगिक, साझेदारी, निजी र सामुदायिक गरी ६ सय ८१ वटा शिक्षण संस्थामा इन्जिनियरिङ र कृषि वन विषयमा भर्ना क्षमताभन्दा निकै थोरैले मात्र प्रवेश परीक्षा दिएका छन् । इन्जिनियरिङका १६ वटा विषयमा २० हजार ८ सय भर्ना क्षमता रहेकोमा ८ हजार विद्यार्थीले मात्र प्रवेश परीक्षा दिएका छन् ।
कृषि र वनमा १२ हजार ९ सय क्षमतामा ४ हजार मात्र सहभागी भएका छन् । प्रि-डिप्लोमातर्फ २५ हजार भर्ना क्षमता रहेकोमा करिब ५ हजारले मात्रै प्रवेश परीक्षा दिएका छन् । राजनीतिक दबाबमा आवश्यकता भन्दा बढी शिक्षण संस्थालार्इ सम्बन्धन दिनु, प्राविधिक शिक्षाप्रति विद्यार्थी र अभिभावकमा चेतना जगाउन नसक्नु लगायतका कारण धेरै शिक्षण संस्था सिट रिक्त हुने अवस्थामा छन् ।
गत वर्ष पनि कूल क्षमतामा ५१ प्रतिशतमात्र विद्यार्थी भर्ना भएका थिए । यसपालि शिक्षण संस्थाहरुमा प्राविधिक विषयका सिट खाली हुनेमात्र होइन, कक्षा नै चलाउन नसक्ने अवस्था आएको छ । प्राविधिक शिक्षा हासिल गरे पनि रोजगारीका अवसर सुनिश्चित नहुँदा आकर्षण बढ्न नसकेको विज्ञको बुझाइ छ ।
सीटीईभीटीका अनुसार विद्यार्थी अभावमा ५० प्रतिशत शिक्षण संस्था बन्द हुने अवस्थामा पुगेका छन् भने संस्था नै बन्द गर्न निवेदन दिनेको संख्यासमेत बढ्न थालेको छ । विद्यार्थी संख्या कम भएका शिक्षालय गाभ्ने निर्णय पनि कार्यान्वयन हुन सकेको छैन ।










प्रतिकृया दिनुहोस्