- २८ जेष्ठ २०८०, आईतवार १७:५५
जेठ २८, काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू) मा आइतबार ७३ विदेशीसहित १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका छन् । २८ औं दीक्षान्त समारोहमा भारत, बेनिन, श्रीलंका र अमेरिका गरी ४ देशका विदेशी विद्यार्थी दीक्षित भएका हुन् ।
केयूमा पढेर दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीको संख्या करिब ६ प्रतिशत हो । पीएचडीका ९, एमफिलका ४१, स्नातकोत्तरका ९८ र स्नातक तहका १ हजार ९२ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । तीमध्ये ६ सय २८ जना (५०.६५ प्रतिशत) छात्रा र ६ सय १२ जना (४९.३५ प्रतिशत) छात्र रहेका छन् । मानविकी संकायका ३५, शिक्षा संकायका ५७, इन्जिनियरिङतर्फ ३ सय ६५, कानुनका १, व्यवस्थापन संकायबाट ५०, चिकित्सा विज्ञानतर्फ ५ सय ६५ र विज्ञान संकायका १ सय ६७ जना रहेका छन् । विश्वविद्यालयले पहिलोपटक स्कुल अफ इन्जिनियरिङअन्तर्गत ब्याचलर अफ आर्किटेक्चरमा २९ जनालाई उपाधि प्रदान गरिएको छ ।
प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले विद्यार्थीलाई काभ्रेको धुलिखेलस्थित विश्वविद्यालय परिसरमा दीक्षित गरेका थिए । कार्यक्रममा मुम्बईस्थित एटलास स्किलटेक विश्वविद्यालयका उपकुलपति बेलुकर र शिक्षामन्त्री तथा सहकुलपति अशोक राई, राज्यमन्त्री प्रमिला कुमारी, उपस्थित थिए । सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पदक तथा पुरस्कार वितरण गरेर सम्मान गरिएको थियो । केयूले स्थापनाको ३२ वर्षमा विभिन्न संकायमा ४१ हजारभन्दा बढी उच्चशिक्षाको विद्यार्थी उत्पादन गरेको जनाएको छ । तीमध्ये ५५ देशका ५ हजार १ सय १२ जना बिदेशी विद्यार्थी रहेका छन् ।
प्रधानमन्त्री दाहालले उच्च सीप, दक्षता र मानवीय गुण सम्पन्न जनशक्ति उत्पादन गरी मुलुकको विकासमा पुर्याएको भन्दै विश्वविद्यालयलाई धन्यवाद दिएका थिए । गुणस्तरीय शिक्षाका लागि मुलुकको अग्रणी र दक्षिण एसियाकै एक प्रतिष्ठित विश्वविद्यालयका रूपमा केयू स्थापित भइसकेको उनको भनाइ थियो । विदेशी विद्यार्थी र प्राध्यापकको संख्या अझै वृद्धि गर्ने नीति विश्वविद्यालयले अघि सारेको उपकुलपति भोला थापाले बताए ।
विश्वविद्यालयले यसपटक स्कुल अफ एजुकेसनबाट स्नातकोत्तर तहमा मास्टर अफ एजुकेसन इन म्याथमेटिक्स एजुकेसनमा सबैभन्दा बढी सीजीपीए चार प्राप्त गरेका सिद्धार्थ रजकलाई चान्सलर स्वर्ण पदक प्रदान गरेको छ । स्नताक तहमा ब्याचलर अफ एजुकेसन इन चाइनिज ल्याङ्वेज टिचिङमा सबैभन्दा बढी सीजीपीए तीन दशमलब ८९ प्राप्त गरेका सञ्चिता केसीलाई भाइस चान्सलर स्वर्ण पदक, म्यानेजमेन्टको एमबीए तहमा सबैभन्दा बढी सीजीपीए तीन दशमलब ९७ प्राप्त गर्ने प्रश्ना भट्टराईलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र स्कुल अफ म्यानेजमेन्टबाट एमबीए तहमा सीजीपीए तीन दशमलव ८५ प्राप्त गरी सर्वोत्कृष्ट हुने आयुष्मा पोखरेललाई रणबहादुर शाह स्वर्ण पदक प्रदान गरिएको विश्वविद्यालयका प्रवक्ता उद्धव प्याकुरेलले बताए ।










प्रतिकृया दिनुहोस्