- २६ चैत्र २०७९, आईतवार १८:११
१७९ जनालाई दीक्षित गर्दै सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । गत पुससम्म ट्रान्सक्रिप्ट निकालेका र आवेदन दिएका विद्यार्थीलाई दीक्षत गरेको हो । स्नातक र स्नातकोत्तर उत्तीर्ण ८५५ विद्यार्थी मध्ये १७९ ले मात्र दीक्षान्त समारोहमा भाग लिन आवेदन दिएका थिए ।
विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकका अनुसार दोस्रो दीक्षान्त समारोह गत असारमा मात्र सम्पन्न गरिएको थियो । सो समारोहमा २५३ जनालाई दीक्षित गरिएको थियो ।
२०६८ मा स्थापना भएको विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह ०७४ मा आयोजना गरेको थियो । विश्वविद्यालयले शैक्षिक कार्यक्रम सुरु गरेको ४ वर्षपछि ०७४ मा १०४ जना विद्यार्थीलाई दीक्षित गरेको थियो ।
विश्वविद्यालयका केन्द्रीय र आंगिक गरी १६ क्याम्पसमा करिब १५ हजार विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले विज्ञान प्रविधि, मानविकी तथा समाजशास्त्र, शिक्षाशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ, कृषि, कानुनका कार्यक्रम सञ्चालन गरिरहेको छ । डडेलधुरामा मेडिकल कलेज र वन विज्ञान कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयले तयारी गरेको रजिस्ट्रार पाठकले बताए ।
विश्वबजारमा प्रतिश्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गनुपर्छः प्रधानमन्त्री
कञ्चनपुरको महेन्द्रनगरस्थित दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा व्यक्त गरे । उनले समाज रुपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको आवश्यक रहेको बताए ।
“विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ ।” प्रधानमन्त्री दाहालले भने । स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएकामा उनले खुसी व्यक्त गरे। “सरकारले डडेल्धुरामा आङ्गिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई विश्वविद्यालयको सङ्कायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता भएको छ”, उनले भने, “उक्त क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारको पूर्ण सहयोग रहनेछ ।”
दीक्षित विद्यार्थीप्रति लक्षित गर्दै प्रधानमन्त्री दाहालले परिवार, समाज र देशका लागि पाइला पाइलामा परीक्षा दिनुपर्ने उल्लेख गर्दै उहाँले अबका परिणामले समाज र देशको भविष्य निर्धारण गर्ने बताए ।










प्रतिकृया दिनुहोस्