- ५ फाल्गुन २०७९, शुक्रबार १४:३२
“शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम् ।
आचाण्डाल मनुष्याणां भुक्तिमुक्ति प्रदायकम् ॥”
सत्य शिव हो र शिव नै सुंदर हो। त्यसैले भगवान आशुतोषलाई ‘सत्यम् शिवम् सुंदरम्’ पनि भनिन्छ। महाशिवरात्रिका दिन भक्तजनहरु जप, तप तथा व्रत राख्ने गर्दछन् र यस दिन भगवान को शिवलिंग रूपमा दर्शन गरिन्छ। यस पवित्र दिनमा देशको हरेक शिवालयहरुमा बेलपत्र, धतूरा, दूध, दही, सख्खर आदि ले शिव लाई अभिषेक गर्ने गरिन्छ।
महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, झापाको अर्जुनधारा, सुनसरीको रामधुनी र पिण्डेश्वर, खोटङ्गको हलेसी, मोरङ्गको किरातेश्वर, गुल्मीको गलेश्वर आदि विविध शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ। यस अवसरमा भारत लगायत विश्वको विभिन्न स्थानहरूबाट योगी एवं भक्तजनहरू भगवान पशुपतिनाथको दर्शन गर्न आउने गर्दछन। यस दिन शिवभक्तहरूबाट शिवलिंगमा बेल-पत्र चढाउने, पूजा गर्ने, उपवास बस्ने तथा रात्री जागरण समेत गरिन्छ। शास्त्रीय वर्णन अनुसार महाशिवरात्रिको व्रत राख्ने साधक लाई मोक्ष प्राप्ति हुने गर्दछ।
धार्मिक आस्था अनुसार ब्रह्मा द्वारा रूद्ररूपी शिवलाई रचना गरिएको दिन, शिव पार्वतीको विवाह भएको दिन र प्रलयकालमा ताण्डव गर्दै तेस्रो नेत्रको ज्वालाबाट समस्त ब्रह्माण्डलाई समाप्त पारिएको दिनको रुपमा महाशिवरात्रि मनाइन्छ। यो दिन उपवास बसि “ऊँ नमः शिवाय” मन्त्रोच्चारण गरेमा सर्वसिद्धि भई मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। आधुनिक विज्ञानले पनि जीवनलाई पदार्थ र अस्तित्वको सम्मिलित रूप प्रमाणित गरेको छ जसलाई ब्रह्माण्ड र तारामंडल भनेर व्याख्या गरिएको छ।
यो वैज्ञानिक तथ्य योगीहरू कालागि अनुभव बाट उत्पन्न सत्य मात्र हो। ‘योगी’ शब्द को तात्पर्य यस्तो व्यक्तिलाई मानिन्छ जस्ले अस्तित्वको एकात्म लाई बुझि सकेका छन। उर्जाको यस असीम विस्तार तथा अस्तित्वको एकात्म भाव लाई जान्ने सम्पूर्ण चाहना नै योग हो। महाशिवरात्रिले यस अनुभवलाई बुझ्न सक्ने उचित अवसर प्रदान गर्दछ।










प्रतिकृया दिनुहोस्