- ७ पुष २०७९, बिहीबार १७:२८
पाैष ७, बैतडी । बैतडीको पाटनमा रहेको कृष्ण माध्यमिक विद्यालयका शिक्षक धनबहादुर विष्टको हत्या अभियोगमा पक्राउ परेका दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत बिहीबार हत्या अभियोगमा पक्राउ परेका पुर्चौंडी नगरपालिका–३ न्वादेउका प्रजा बोहरा र उनकी श्रीमती बिमलालाई सार्वजनिक गरेको हो।
बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीकाअनुसार बोहरा विष्टले अध्यापन गराउँदै आएको कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययन गर्दै आएकी थिइन्। उनका श्रीमान बोहरा पनि केही दिनदेखि उनीसँगै विद्यालयको होस्टेलमा बस्दै आएका थिए।
सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक विष्टले श्रीमतीमाथि दुव्र्यवहार गरेको देखेपछि हत्या गरेको बोहराले प्रहरी समक्ष बयान दिएका छन्। ‘पुस १ गते राति विमला शौचालय जान्छु भनि कोठाबाट बाहिर निस्केकी थिइ। ढिलोसम्म नआएपछि मैले खोजी गर्दा उनलाई विष्टले अंगालो हालेको देखेपछि रिस उठेर मुक्का हानेको थिए,’ बोहराको बयान उदृत गर्दै डीएसपी शाहीले भने, ‘मुक्का प्रहार गर्दा ढलेपछि उनको छाती र मुखमा हानेको हुँ। ’
विष्टको हत्या गरिसकेपछि श्रीमतीसँगै मिलेर शव छात्रवासको पछाडि लगेर फालेको बयान उनीहरुले दिएका छन्। बिमला बस्ने कृष माविको छात्रबासको माथिल्लो तलामा बस्दै आएका शिक्षक विष्ट गत शनिबार होस्टेल पछाडि मृत अवस्थामा भेटिएका थिए। घटनाको छानबिनको माग गर्दै पाटनमा आन्दोलन चर्किएको थियो।
घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी निरीक्षक धनदेव साउद नेतृत्वको टोली पनि खटिएको थियो। जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अभियुक्त माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










प्रतिकृया दिनुहोस्