- २५ मंसिर २०७९, आईतवार ११:३८
२३ मंसिर,रूपन्देही । शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीको आयोजनामा रुपन्देहीमा सिकाई र विद्यालयको शैक्षिक विकासमा गरिएका असल अभ्यास सम्बन्धी छलफल कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।
शुक्रवार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले तीनवटा सरकार वीच प्रभावकारी समन्वय नभए सम्म शिक्षाको सुधार सम्भव नभएको बताउँदै नेपाल नगरपालिका महासंघ, गाउँपालिका महासंघसँग शिक्षा मन्त्रालयले एमओयु गर्ने तयारी गरेको धारणा व्यक्त गरे । प्रधानमन्त्री मातहतमा रहेको राष्ट्रिय समस्या समाधान समिति अन्तर्गत राष्ट्रिय योजना आयोग, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन लगायत समग्र पक्षको सहभागिहामा पहल भइरहेको धारणा व्यक्त गरे ।
साथै उनले शिक्षामा धेरै समस्याहरू भएकोमा चिन्ता व्यक्त गर्दै शिक्षा ऐन आएमा सामुदायिक, निजी तथा आवसीय विद्यालयको समस्या समाधान हुने धारणा व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि वागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटाले रूपन्देही जिल्लाले शिक्षाको क्षेत्रमा उल्लेखनीय असल अभ्यास अबलम्बन गरेकोमा खुसी व्यक्त गर्दै रुपन्देही जिल्लाका असल अभ्यास वागमती प्रदेशका लागि पनि शिक्षा सुधारमा महत्वपूर्ण हुने हुँदा विद्यालयका वेबसाइडहरुमा पनि असल अभ्यास राख्न सुझाव दिए ।
कार्यक्रममा सामुदायिक विद्यालयहरुका असल अभ्यासहरुका बारेमा कालिका मानवज्ञान माविका प्रध्यानाध्यापक दिनेश थापा, निजी तथा आवासिय विद्यालयको तर्फवाट प्याब्सन रुपन्देहीका पूर्व अध्यक्ष एंव बुद्धदीप इङलिस बोडिङ स्कूलका प्रध्यानाध्यापक लेखनाथ पौडलले प्रतिनिधिमुलक धारणा राखेका थिए ।
समसामयिक सवालहरूमा शान्ती नमुना माविका प्रध्यानाध्यापक कुलप्रसाद लामिछाने, नवीन औद्योगिक माविका प्रध्यानाध्यापक प्रेमबहादुर बस्नेत, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसाल लगायतले नमुना विद्यालय, पोखरा विश्वविद्यालयले प्राविधिक छात्रवृतीमा र कक्षा १२ को बोर्ड परिक्षाको गणितको प्रश्नपत्रमा भएका कमीकमजोरी लगायतको बारेमा आआफ्नो धारणा राखेका थिए ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाह प्रमुख दिपेन्द्र ढकालले रुपन्देहीमा प्रावि दरबन्दी एक हजार ९ सय २८ र शिक्षक अनुपात १ः७० निमाविमा ५ सय ०९ शिक्षक विद्यार्थी १ः१३५, माविमा ४ सय ३५ शिक्षक दरबन्दी शिक्षक विद्यार्थी अनुपात १ः९५ र उमाविमा १ सय ६१ शिक्षक अनुपात १ः२१० भएको, बेरुजु घटाउने पहल गरेको विद्यालय लेखा प्रणालीलाई व्यवस्थीत गर्ने प्रयास गरेका रुपन्देहीका १६ पालिका अन्तरगत टिचिङ सपोर्ट सिस्टम पालिकाका शिक्षा प्रमुखको नेतृत्वमा सेवानिवृत शिक्षक तथा कर्मचारी राखेर व्यवस्थीत रुपमा गठन गर्ने र शिक्षामा सुधार गर्ने धारणा व्यक्त गरे । रुपन्देहीमा ४९० सामुदायिक, ३५२ संस्थागत गरी ८४२ विद्यालय रहेको उनले जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख दिपेन्द्र ढकालको अध्यक्षता तथा शाखा अधिकृत विष्णु बेलबासेको सञ्चालमा कार्यक्रम भएको थियो ।










प्रतिकृया दिनुहोस्