- १६ जेष्ठ २०७९, सोमबार ०८:०२
जेठ १६, काठमाडौं । पछिल्लो पाँच वर्षदेखि ‘ईश्वरीय मार्ग भजन मण्डली सच्चाई केन्द्र’ले गर्ने उच्च ध्वनि प्रदूषणले आजित भएका कपनवासीले केन्द्रलाई जसरी पनि प्रतिस्थापन गर्नुपर्ने अडान राखेका छन् । बुढानीलकण्ठ नगरपालिकाको ११ नं वडामा पर्ने कपन हाइटमा प्रतिनिधि सभाका सांसद एवंं नेपाली काँग्रेसका महामन्त्री गगन थापाको अगुुवाईमा बसेको भेलामा स्थानीयले सच्चाई केन्द्रले गर्ने गतिविधिले स्थानीयलाई आजित बनाइसकेको भन्दै यसलाई जतिसक्दो चाँडो प्रतिस्थापन गर्नेबाहेकका विकल्पमा छलफल नगर्ने बताएका हुन् ।
भेलामा सहभागीहरुले सच्चाई केन्द्रमा आउने पाहुनाहरुबाट आफूहरु असुरक्षित रहेको भन्दै सुरक्षाको ग्यारेन्टी दिँदै आफूहरुको अभियानमा सहयोग गर्न सांसद थापासँग आग्रह गरेका थिए । स्थानीयले गत सोमबारबाट केन्द्रको कार्यक्रम गर्न नदिने निर्णय गर्दै प्रतिकार अभियान चलाएका छन् । शनिबार देशका विभिन्न ठाउँबाट ठूलो संख्यामा आगन्तुक आउने र सो समूहमा जस्तोे सुकै मान्छे हुन सक्ने भएकोले आफूहरु असुरक्षित रहेको स्थानीयको गुनासो छ ।
भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालको संविधानले सबैलाई आफ्नो आस्था अनुसारको गतिविधि गर्न दिएपनि त्यसले आसपासका अरुलाई हानि पुग्न नहुने भनेर स्पष्टसँग लेखेको भन्दै कपनवासीको समस्या समाधानमा आफू प्रयासरत रहेको बताए । उनले कसैले आफ्नो आस्था मान्ने नाममा अरुको मौलिक अधिकार हनन् गर्न नपाउने भन्दै कपनवासीको समस्यालाई आफूले पनि मनन गरेको बताए ।
सोमबार, बुधबार र शनिबार हुने विशेष कार्यक्रममा सच्चाई केन्द्रमा आउने आगन्तुकहरुले घरमा अनावश्यक घण्टी बजाइदिने, अनावश्यक हल्लाखल्ला गर्ने, विद्यालयमा पढ्ने विद्यार्थीको पढाइमा प्रभावित गराउने जस्ता काम केन्द्रको गतिविधिबाट भएको गुनासो स्थानीयको छ । यसको बारेमा उनीहरुसँग गुनासो गर्दा ‘घर बेचेर जान’ सुझाव दिने गरेको गुनासो पनि स्थानीयले गरेका छन् । पाँच वर्ष अघिदेखि खुलेको केन्द्रले आफ्नो जनजीवनलाई प्रभावित गरेको भन्दै वडा, न्यायिक समिति, अदालत हुँदै प्रशासनसम्म पुग्दा पनि न्याय नपाएपछि प्रतिकारमा उत्रिनुपरेको स्थानीय श्याम श्रेष्ठले बताए । उनले अदालतले स्थानीयलाई असर नगर्नेगरी गतिविधि सञ्चालन गर्न भने पनि केन्द्रले अटेरी गरेको आरोप लगाएका छन् ।










प्रतिकृया दिनुहोस्