- २६ असार २०८२, बिहीबार १४:०८
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा अषाढ शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रूपमा मनाउँदै आएको छ ।
व्यासदेवलाई ‘गुरुणां गुरु’ भनी यस दिनलाई गुरुपूर्णिमा उत्सवको रूपमा मनाइन्छ । वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए । पाँचौं वेदसमेत भनिने महाभारतका रचयिता व्यास नै वेद व्यास थिए ।
तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण ‘गुरु पूर्णिमा’ का अवसरमा सार्वजनिक बिदा दिएको छ । कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम छ । चार वेद १८ पुराणका रचयिता भगवान् व्यासको जन्म तनहुँको दमौलीमा भएको विश्वास गरिन्छ । यही व्यासको नामबाट व्यास नगरपालिका नामकरण गरिएको हो । प्रत्येक वर्ष नगरपालिकाले गुरु पूर्णिमामा सार्वजनिक बिदा दिँदै आएको छ ।
आज कै दिन भगवान शिवले पनि सप्तऋषिहरुलाई ज्ञान दिनुभएको थियो । यस दिन हामी जसलाई श्रद्धापूर्वक आफ्ना मार्गदर्शक, गुरु मान्छौं, उनका चरणमा भेट अर्पित गरेर आगामी वर्षका लागि शुभाशीर्वाद प्राप्त गर्दछौं । समाजमा यो तिथि गुरुको स्मरण, अर्चन, वन्दनका लागि समर्पित छ।
जसबाट प्रकाश प्राप्त होस्, ज्ञान पाइयोस्, सही मार्ग देखियोस्, आफ्नो कर्तव्य देखियोस्, आफ्नो ध्येय देखियोस्, त्यो गुरु–तत्त्व हो । त्यो गुरु–तत्त्व सबैभित्र विराजमान छ । त्यो गुरु–तत्त्व जुन व्यक्ति, शास्त्र आदिबाट प्रकट हुनजान्छ, त्यसैलाई आफ्नो गुरु मान्नुपर्दछ । हाम्रो समाजमा जीवनका विभिन्न क्षेत्रमा मार्गदर्शन गर्ने व्यक्तिलाई गुरुको प्रतिष्ठा दिइएको छ । अक्षर ज्ञान, विशेष कला (संगीत, चित्रकला, नियुद्ध आदि सिकाउने, व्यवसाय या जीविकोपार्जनमा मार्गदर्शन) गर्ने अर्थात् जीवनमा जो कसैबाट पनि केही शिक्षा लिन्छौं उसलाई गुरु मान्दछौं ।
वास्तवमा भन्ने हो भने भगवान् नै सबैका गुरु हुनुहुन्छ किनभने संसारमा जो–कसैलाई ज्ञान, प्रकाश आदि प्राप्त हुन्छ, त्यो भगवान्बाट नै प्राप्त हुन्छ । त्यो ज्ञान जहाँ–जहाँबाट, जस–जसबाट प्रकट हुन्छ अर्थात् जुन व्यक्ति, शास्त्र आदिबाट प्रकट हुन्छ, त्यो गुरु कहलिन्छ; तर मूलमा भगवान् नै सबैका गुरु हुनुहुन्छ ।
श्रीमद्भागवत्मा भगवान् दत्तात्रेयले पृथ्वी, जल, वायु, आकाश, अग्नीलगायतका पञ्चतत्व, पुतली, मौरी, भमरा, हात्ती, मृग जस्ता जीव, पिङ्गलाजस्ती नारी लगायत २४ तत्वलाई गुरु स्विकार्नु भएको उदाहरण पाइन्छ ।
हिन्दू दर्शनमा गुरुलाई साक्षात् परब्रह्म पनि मानिन्छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ॥
गुरु, सृष्टिकर्ता ब्रह्मा जस्तै हुन् जसले शिष्यको जीवनमा सद्गुणहरूको सृष्टि र विकास गरिदिन्छन् । गुरु भगवान् विष्णु जस्तै हुन् किनभने उनले आफ्ना विद्यार्थीहरूमा भएका असल गुणहरूको रक्षा गर्ने प्रेरणा दिन्छन् । गुरु भगवान् महेश्वर जस्तै हुन् किनभने उनले विद्यार्थीमा भएका दुर्विचार र दुर्गुणहरू नष्ट गरिदिन्छन् । यसकारण परब्रह्मरूपी गुरुलाई हामी नमन गर्दछौं ।
गुरुको पूजा, गुरुको आदर कुनै व्यक्तिको पूजा होइन, गुरुदेहमा स्थित जुन विदेह आत्मा छ, त्यसैको आदर हो । गुरुको पूजन ज्ञानको पूजन हो ।
जुन महापुरुषहरूले कठोर परिश्रम गरेर हाम्रा लागि ज्ञानको अथाह भण्डारको द्वार खोलिदिएका छन्, तिनलाई स्मरण गर्दै कृतज्ञता ज्ञापन गर्ने पावन अवसर हो समाजका लागि गुरु पूर्णिमा । ऋषिऋण चुकाउने, गुरुको आशिर्वाद प्राप्त गर्ने र गुरुबाट प्रेरित भएर उचित दिशामा अघि बढ्ने संकल्प लिने अवसर हो । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, पथ प्रदर्शन गर्ने समस्त ग्रहरुलाई यस दिन कोटी-कोटी नमन गरिने गरिन्छ । गुरुपूर्णिमा गुरु मार्फत प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार व्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन हो । संसार जति नै आधुनकि प्रविधिमैत्री भएता पनि सहजता उपलब्ध भए पनि गुरुतत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ, अथाह र अनन्त छ ।










प्रतिकृया दिनुहोस्