- ९ असार २०८२, सोमबार ०७:४७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भेटिएको ग्याँस एक वर्षभित्रै उपयोगमा ल्याउने गरी छिटो परीक्षण उत्पादन सुरु गर्न निर्देशन दिएका छन् । त्यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने बचन पनि प्रधानमन्त्री ओलीले दिएका छन् ।
दैलेखमा भेटिएको ग्याँसका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरुसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा ड्रिल गरेर अन्वेषण गर्दा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस भएको पत्ता लागेको प्रारम्भिक प्रतिवेदन चाइना जियोलोजिकल सर्भेले उद्योग मन्त्रालयलाई दिएको थियो । यस सम्वन्धी समाचार अनलाइनखबर डटकमले गत विहीबार नै सार्वजनिक गरेको थियो ।
त्यसबाट उत्साहित प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी मिथेन ग्याँसको परीक्षण उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिएको भेटमा सहभागी एक अधिकारीले बताए । त्यसका लागि उनले आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने स्पष्ट पनि पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
धौबादीमा १०० वर्षका लागि पुग्ने फलाम खानी
यसैगरी, पूर्वी नवलपरासीको धौवादी फलाम कम्पनी लिमिटेडले पूर्वी नवलपरासीमा ड्रिलिङ कार्य तथा फलाम खानीको सम्भाव्यता अध्ययन भई प्रक्रिया अघि बढिरहेको विषयमा पनि प्रधानमन्त्री ओलीलाई अवगत गराइएको थियो ।
आगामी एक सय वर्षका लागि पुुग्ने करिब ९९ मिलियन टन फलामको धाउ भण्डार उत्खनन् गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।
नियमित प्रक्रियाबाट २०८५ सालभित्रमा फलाम/स्टिल उत्पादन गर्न सकिने कम्पनीको प्रस्तुति थियोे ।
प्रधानमन्त्री ओलीले २०८५ साल अघि नै फलाम/स्टिल उत्पादन गरी बिक्री र उपयोगमा ल्याउने गरी तयारी गर्न निर्देशन दिएका थिए । सो कार्यका लागि स्रोत, साधन र कानुनी सहजीकरणका लागि सरकारले सबै प्रबन्ध गर्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
छलफलमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, दैलेखका सांसद्हरुलगायत सहभागी थिए ।










प्रतिकृया दिनुहोस्