- २२ माघ २०८१, मंगलवार २१:१०
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन प्रस्ताव प्रवेश भएको छ ।
मंगलबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको दफावार छलफलमा कांग्रेस सांसद डा. चन्द्र भण्डारीले बहालवाला प्रधानमन्त्रीलाई कुलपति बनाउँदा समय दिन नभ्याउने भएकाले पूर्वराष्ट्रपति वा पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउन प्रस्ताव राखेका हुन् ।
‘परिवर्तन गर्ने हो भने पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरू हुनुहुन्छ । गरिमामय पदमा बसेको व्यक्तिलाई एक–एकवटा विश्वविद्यालय दिइयो भने समाज रुपान्तरण गर्न सकिन्छ । एक कदम फड्को मार्न सकिन्छ । यो आँखाबाट पनि हेरौं,’ उनले भने ।
विश्वमा यस्तो चलन रहेको बताउँदै सांसद भण्डारीले पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्न समितिमा प्रस्ताव राखे । ‘उहाँहरू खाली हुनुहुन्छ । एकपटक कुरा गरौं । यो बाटोलाई बन्द नगरौं । कुलपति हुन चाहेमा उहाँहरूलाई दिऔँ । उहाँहरूसँग ज्ञान छ । पढेको हुनुहुन्छ । बाबुरामजीहरू हुनुहुन्छ,’ भण्डारीले भने ।
माओवादीका सांसद महिन्द्र राय यादवले भने फरक मत राखे । पूर्वराष्ट्रप्रमुखहरू नै पार्टी बैठकमा आउन खोजिरहेको अवस्थामा कुलपति बनाउँदा विश्वविद्यालयलाई राजनीतिबाट बाहिर राख्न नसकिने तर्क गरे ।










प्रतिकृया दिनुहोस्