- ४ बैशाख २०८१, मंगलवार १२:१७
काठमाडौँ । काठमाडौं काठमाडौँ महानगरपालिकाले विद्यालयहरूलाई निर्देशन जारी गरेको छ ।
महानगरपालिकाले विद्यालयहरूलाई जारी गरेको सन्देशहरू निम्न अनुसार रहेको छ ।
१. सबै विद्यालयले सबै कक्षा (प्रारम्भिक बाल कक्षासहित) मा अनिवार्यरूपमा राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६, अनुरूप विकास गरिएको पाठ्यक्रममा आधारित भई शिक्षण सिकाइ क्रियाकलाप तथा मूल्याङ्कन प्रणाली अवलम्बन गर्नुपर्ने छ ।
२. पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले स्वीकृत गरेभन्दा बाहेकका कुनै पनि पाठ्यपुस्तक प्रयोग गर्न पाइने छैन ।
३. प्रारम्भिक बाल कक्षा (इसिडी ) देखि कक्षा ३ सम्म एकीकृत शिक्षण सिकाइ क्रियाकलाप र शत प्रतिशत आन्तरिक मूल्याङ्कन भएकोले सोको पूर्ण कार्यान्वयन गर्नुपर्ने छ ।
४. कक्षा १-१२ मा पाठ्यक्रमले तोके बमोजिमको आन्तरिक मूल्याङ्कन गरी सोको अभिलेखीकरण अनिवार्य रूपमा गर्नुपर्ने छ साथै सम्बन्धित विद्यालयका विषय शिक्षकहरूबाट प्रश्नपत्र तयार पारी त्रैमासिक परीक्षा सञ्चालन गर्नुपर्ने छ । कक्षा ८ को महानगरस्तरीय परीक्षा केन्द्रगत रूपमा सञ्चालन गरिने छ ।
५. कक्षा १-१२ का हरेक कक्षा र विषयका आवधिक परीक्षाका लागि तयार पारिएका शिक्षक निर्मित प्रश्नपत्रहरूको सफ्टकपी सम्बन्धित स्रोतकेन्द्रमा बुझाउनुपर्नेछ ।
६. कक्षा ३ सम्मको थिमगत सिकाइ उपलब्धि तथा अन्य कक्षाका विद्यार्थीको आन्तरिक मूल्याङ्कनको बारेमा जानकारी गराउन हरेक तीन महिनामा कम्तीमा एकपटक अभिभावक भेला राख्नु पर्ने छ ।
७. महानगरपालिकाले उपलब्ध गराएको शिक्षक डायरीको प्रयोग गरी पूर्ण रूपमा अद्यावधिक गर्नुपर्ने छ ।
८. सामुदायिक विद्यालयहरूले हरेक महिनाको ७ गतेभित्र अघिल्लो महिनाको दिवा खाजाको रकम माग गर्नुपर्ने छ ।
९. सामुदायिक विद्यालयहरूले हरेक महिनाको २५ गतेभित्र सो महिनाको तलबभत्ता माग गर्नुपर्ने छ ।
१०. शैक्षिक क्यालेण्डरमा उल्लेख भएका बिदा र थप स्थानीय बिदाबाहेक कुनै पनि दिन (जस्तै : परीक्षा तयारी, वार्षिकोत्सव तयारी, उत्तरपुस्तिका परीक्षण, महिनाको अन्तिम बार आदिका नाममा) विद्यालयका शैक्षिक गतिविधि अवरुद्ध गर्न पाइने छैन ।
११. भर्नाको लागि प्रारम्भिक बाल कक्षामा तथा अन्य विद्यालयबाट अघिल्लो कक्षा उत्तीर्ण गरी ग्रेडसीटसहित आएका विद्यार्थीको प्रवेश परीक्षा तथा प्रवेश परीक्षा शुल्क लिन पाइने छैन । विद्यालयको क्षमताभन्दा बढी विद्यार्थीले आवेदन दिएमा गोला प्रथा वा पहिला आउनेलाई प्राथमिकता दिई भर्ना गर्नुपर्ने छ ।
१२. शैक्षिक क्यालेन्डरमा निलो रंग लगाएका शुक्रबार कक्षा ४ देखि ८ मा उपसमूहहरुमा आधारित सिर्जनात्मक
सिकाइ र कक्षा ९-१० मा शिक्षामा सिप कार्यक्रम (बुक फ्रि फ्राइडे) सञ्चालन गर्नुपर्ने छ ।
१३. श्रम संस्कृतिको विकास गराउन हरेक शुक्रबार विद्यालय तथा आसपासका क्षेत्रमा बालबालिका तथा वातावरण उपसमूहको अगुवाइमा विद्यार्थी र शिक्षकको सहभागितामा एक घण्टा सुन्दर तथा हरित विद्यालय प्रवर्धनका लागि श्रमदान अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने छ ।
१४. विद्यार्थी स्वागत तथा भर्ना अभियान कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने छ । भर्ना भएका विद्यार्थीको विवरण जन्मदर्ता प्रमाण-पत्रको आधारमा अभिलेखीकरण गर्नुपर्ने छ ।
१५. विद्यालय हाताभित्र चाउचाउ, बिस्कुटजस्ता न्यून तथा अल्प पोषक खाद्य पदार्थ निषेध गरिएको छ । विद्यालयले हरेक दिन उपलब्ध गराउने दिवा खाजाको लागि स्थानीय उत्पादनमा आधारित खाद्यवस्तुलाई प्राथमिकता दिनुपर्ने छ । हरेक शुक्रबारको दिवा खाजामा रैथाने प्रजातिका खाद्यवस्तुको उपयोग गर्नुपर्ने छ ।
१६. कुनै पनि विद्यालयले विद्यालय परिसरबाट पुस्तक, पोसाक तथा स्टेशनरी सामग्री बिक्री वितरण गर्न पाइने छैन ।










प्रतिकृया दिनुहोस्