- २६ कार्तिक २०८०, आईतवार ०७:४२
काठमाडौँ , २६ कार्तिक । काठमाडौँ विश्वविद्यालयले ‘राष्ट्रिय उपकुलपति सम्मेलन’ आयोजना गर्ने भएको छ । २०८० मङ्सिर ८ गते धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय परिसरमा सम्मेलन गर्ने भएको हो ।
नेपालको उच्च शिक्षाका विभिन्न अवयवहरूलाई केलाउँदै अन्तर्राष्ट्रियकरणबाट प्राप्त अवसरहरूको पहिचान तथा सदुपयोग गर्नका लागि राष्ट्रिय उच्च शिक्षाका प्राज्ञिक एवं नीतिगत तहबाट अन्तर्दृष्टि, विचार तथा सुझावहरू सङ्कलन र आदानप्रदान गर्ने अभिप्रायले सम्मेलन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।
यस कार्यक्रमको मूल विषयवस्तु “Harmonizing National Educational Standards for the Internationalization of Nepali Higher Education” रहनेछ । प्राज्ञिक तथा नीतिगत तहमा नेतृत्वदायी भूमिकामा रहनु हुने विभिन्न व्यक्तित्वहरूको सहभागिता रहने यस सम्मेलनले नेपालको उच्च शिक्षा क्षेत्रमा प्रगतिशील सुधारका लागि मार्ग प्रशस्त गर्नुका साथै उच्च शिक्षाका प्राज्ञिक एवं नीतिगत तहबाट प्राप्त सुझाव, विचार र अन्तर्दृष्टिहरू विश्लेषण गरी नेपाली उच्च शिक्षाको अन्ताराष्ट्रियकरण सम्बन्धी राष्ट्रिय साझा धारणा निर्माण गर्ने अपेक्षा विश्वविद्यालयको छ ।
नेपालको उच्च शिक्षाको विकासको एक महत्त्वपूर्ण पक्ष अन्तरराष्ट्रियकरण हो । विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूसँग प्राज्ञिक सहकार्यहरू मार्फत नेपाली उच्च शिक्षा जगत द्रुत गतिमा विकास भइरहेको छ । यसले गर्दा अनुसन्धानका अवसरहरूमा बृद्धि हुनाका साथै प्राज्ञिक र स्रोत–साधनको आदानप्रदान जस्ता कार्यहरू सम्भव भएका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालको उच्च शिक्षाको मान्यता बढाउन नेपालको उच्च शिक्षाको स्तर, पाठ्यक्रम संरचना, पठनपाठन पद्धति र गुणस्तरमा व्यापक सुधार गरी समग्र नेपाली उच्च शिक्षामा एकरूपता कायम गर्दै अन्तर्राष्ट्रिय उच्च शिक्षासँग समकक्षी बनाउनुपर्ने चुनौती पनि नेपाली शैक्षिक नेतृत्वका सामु रहेको छ’ विश्वविद्यालयले सम्मेलन गर्नुको कारण उल्लेख गरेको छ ।
नेपालको उच्च शिक्षाको भविष्यलाई आकार दिने रणनीति र विचारहरूको फलदायी आदानप्रदानको परिकल्पना गर्दै काठमाडौँ विश्वविद्यालय सम्पूर्ण सहभागी उपकुलपतिहरू, नीति–निर्माताहरू, शिक्षकहरू र नेपाली उच्च शिक्षा जगतका विभिन्न सरोकारवालाहरूलाई यस बृहत् सम्मेलनमा सहभागी हुन आग्रह गरेको छ ।











प्रतिकृया दिनुहोस्