- १० कार्तिक २०८०, शुक्रबार ०८:३१
कार्तिक १०, कास्की । शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माणसँगै यहाँको समग्र व्यवस्थापानका लागि रु नौ करोडको गुरुयोजनासमेत तयार गरिएको जानकारी तालबाराही मन्दिर पुनःनिर्माण परियोजनाका प्राविधिक संयोजक प्रा डा भरत पहारीले दिनुभयो । चार रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन मन्दिर पुनः निर्माणसँगै अन्य संरचना निर्माणका लागि रु नौ करोड छुट्याइएको र मन्दिर परिसरका सम्पूर्ण संरचना दुई वर्षभित्र नै सम्पन्न गरिने जानकारी उहाँले दिनुभयो ।
उहाँका अनुसार मूल मन्दिर एक वर्षभित्र र सभाहल, शौचालय, गार्डेन, होमनस्थल, स्टोर कक्ष, पानीको फोहरा, ढुङ्गेधाँरा, डुङ्गाघाट गुरुयोजनामा छन् । मन्दिरको अस्तित्व सन् १६६७ देखि कायम रहिआएको पाइन्छ । कतै–कतै १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेखसमेत छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेको इतिहास छ ।
प्राचीनकालमा माटाको ढिस्कामा एउटा शीला थियो, त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवबदन्ती छ । किंबदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको छ । तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता दृश्यले पर्यटक लोभिने गरेका छन् ।
प्राकृतिक मनोरम दृश्यको आनन्द लिन पाइने मात्र नभइ तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको बताइएको छ । मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले रु २५ लाख र मन्दिर व्यवस्थापन समितिले रु एक करोड १५ लाख जुटाउने सम्झौतामा उल्लेख छ । मन्दिर पुनः निर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले रु ६५ लाख रहेको र अपुग रकम पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने व्यवस्थापन समितिले जनाएको छ ।
फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको एक धेरै पुरानो मन्दिर तालबाराही भगवतीको मन्दिर हो । यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो । मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो । हिकमतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो ।
तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ । रासस










प्रतिकृया दिनुहोस्