- ४ भाद्र २०८०, सोमबार ०७:५२
पारिस्थितिक प्रणालीलाई अनुकूल बनाइराख्न सहयोग पुगोस् भनेर पनि नागको पूजा गर्ने विधान बनाएको नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापिठ धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डा. देवमणि भट्टराई बताउँछन्।
उनका अनुसार यस पर्वले सम्पूर्ण नाग (सर्प) जातिको संरक्षण र नाग बसोबास गर्ने पानीका स्रोत वा मूलको संरक्षणमा सहयोग पु¥याएको छ। नागपञ्चमीका दिन ज्योतिष शास्त्रअनुसार शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नुनपर्ने उनी बताउँछन्। ‘कुनै पनि भवन निर्माण गर्दा भूमिमा नागदोष भए यसै दिन वैदिक विधिद्वारा पूजा गरी पन्छाए नागको दोषबाट मुक्त हुन सकिन्छ,’ उनले भने।
सर्वप्रथम नागबारे शुक्लयजुर्वेदले ‘ॐ नमोस्तु सर्पेब्भ्यो ये के च पृथिवी मनु येऽन्तरिक्षे येदिवितेब्भ्यः सप्र्पेभ्यो नमः’ अर्थात् हे सर्पहरू हो, पृथिवी, अन्तरिक्षलगायत भूमण्डलमा जति पनि हुनुहुन्छ, तपाईहरूलाई नमस्कार छ भनेर उपासना गरेको छ। वेदले तिनै सर्पका राजालाई नाग मानेको छ। वेदमै सृष्टिकालमा जलमाथि शेषनाग शड्ढयामा फणाको छातामुनि शयन गरेका विष्णु भगवान्को स्परूप उल्लेख गरिएको छ। त्यस्तै, शिवले गलामा वासुकि नागको माला लगाएका र भगवान् गणेशले हातमा नाग लिएको शास्त्रमा उल्लेख छ। त्रेता युगका श्रीरामका भाइ लक्ष्मण र द्वापर युगका श्रीकृष्णका दाजु बलरामलाई शेषनागको अवतार मानिएको छ। शेषनागले पृथ्वीलाई आफ्नो शिरमा धारण गरी अड्याएको पनि शास्त्रमा उल्लेख छ। वराह पुराणमा यसै दिन नागराज र ब्रह्माको संवाद भएको आधार मानी नागनागिनीको पूजा गर्ने चलन चलेको बताइएको छ। त्यस्तै, महाभारत तथा भविष्योत्तर पुराणमा पनि वासुकि, तक्षक, कालीय, मणिभद्रक, ऐरावत, धृतराष्ट्र, कर्कोटक र धनञ्जय नाम गरेका नागले अभय प्रदान गर्दै प्राणीको रक्षा गर्छन् भनिएको छ।
यस दिन काठमाडौं उपत्यकाका भचाखुसी–स्थित घोडेनाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, गल्कोपाखा ठमेलस्थित हरिनाग, टुँडिखेल सुन्धाराछेउस्थित मीननाग, थानकोटस्थित नागढुंगा, धापाखेलस्थित नागदह, चोभारको टौदह, नक्सालस्थित नागपोखरी र चाँगुनारायण नगरपालिका ८ कलमसीस्थित कल्पेश्वर नाग मन्दिरमा विशेष रूपमा पूजाअर्चना गर्ने प्रचलन छ। साथै यी स्थानमा नागपञ्चमीको अवसरमा मेलासमेत लाग्ने गरेको छ।










प्रतिकृया दिनुहोस्