- २९ मंसिर २०७९, बिहीबार २१:१६
बुनपा काँग्रेस नेताहरू सडक कार्यालयमा डेलिगेसन , आकाशेधारा-राममन्दिर सडक’ तत्काल सम्पन्न गर्न माग
काठमाडौं । करिब ७ वर्षदेखि अलपत्र रहेको आकाशेधारा राममन्दिर सडक खण्डको निर्माण तत्काल सम्पन्न गर्न माग गर्दै नेपाली काँग्रेसको कपनका नेताहरु डेलिगेसन गएका छन् । बिहीबार मिनभवनस्थित डिभिजन सडक कार्यालयमा पुगेको प्रतिनिधिमण्डलले सडक विभागका उपमहानिर्देशक लगायतलाई भेटेर समयमा सडक निर्माणले पूर्णता नपाउँदा जनताको स्वास्थ्यमा गम्भीर असर परेकोभन्दै त्यसलाई तत्काल पूर्णता दिन माग गरेको हो ।
बुढानीलकण्ठ नगरपालिकाको वार्ड नं. १०मा पर्ने आकाशेधारादेखि वार्ड नं. ११ को सीमा राममन्दिरसम्मको १.३३० कि.मि. लामो सडक निर्माण सम्पन्न हुनुपर्ने मितिबाट ५ वर्ष ढिला भइसक्दा पनि काम सक्ने तयारी नभएको भन्दै सडक कार्यालयलाई दबाब दिन डेलिगेसन गएको प्रतिनिधिमण्डलको नेतृत्व गरेका बुढानीलकण्ठका नेता विनोद चालिसेले बताए । विवादित कम्पनी शैलुङले कन्स्ट्रक्सनले काम सुरु गरेको यो सडक निर्माण तोकिएको समयभन्दा ५ वर्ष ढिला भइसक्दा पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन ।
चालिसेले डेलिगेसनमा गएको टोलीले तत्काल सडक निर्माण सम्पन्न गरेर स्थानीयको सास्ती नहटाए आफूहरु कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको बताए । प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै सडक विभागका उपमहानिर्देशक तुलाकान्त चौधरीले प्राविधिक समस्याका कारण समयमा काम सम्पन्न नभएको भन्दै अब कामले गति लिने आश्वासन दिएका छन् ।
त्यस्तै, कार्यालयका सो साइट हेर्ने इन्जिनियर विष्णु पौडेलले सप्लायर्सले समयमा सामग्री नपठाएकोले काम सम्पन्न हुन नसकेको सुनाए । उनीहरुले सो क्षेत्रका बासिन्दाको समस्यालाई केन्द्रित गर्दै अब कामको रफ्तार बढाउन निर्माण कम्पनीलाई दबाब दिने आश्वासन दिएका छन् ।
कुल रु.९ करोड ३२ लाख १७ हजार लगत अनुमान गरिएको यो सडकको टेण्डर आव्हान गर्दा शैलुङ कन्ट्रक्सन कम्पनीले रु.६ करोड ५५ लाख ८० हजार बोलकबोल गरी ठेक्का प्राप्त गरेको थियो । निर्माण कम्पनीसंग मिति २०७३ भदौ १५ मा भएको सम्झौता अनुसार मिति २०७४ माघ १४ भित्र निर्माण कार्य सम्पन्न गरी सक्नुपर्ने थियो । पटक पटक गरेर मिति २०७७ जेठ २० सम्म म्याद थप भएको थियो ।
डेलिगेसनमा चालिसेका अलावा ११ नं वडा का इकाई सभापति राधेश्याम कार्की, वाग्मती प्रदेश इकाई उपाध्यक्ष दिलीप खत्री, वडा नं १० का उपसभापति नेत्र प्र. भट्ट, प्रदेश (ख) कमिटी सदस्य किशोर गुरुङ, लगायत गएका थिए ।










प्रतिकृया दिनुहोस्