- १८ मंसिर २०७९, आईतवार ०७:१८
मंसिर १७, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (मपवि) ले सन् २०१४ को नोवेल विश्व शान्ति पुरस्कार प्राप्त व्यक्तित्व कैलाश सत्यार्थीको नाममा ‘कैलाश सत्यार्थी चेयर ’ स्थापना गर्ने निर्णय गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको तेह्रौं सभाको बैठकले ‘कैलाश सत्यार्थी चेयर ’ स्थापना गर्ने निर्णय गरेको हो ।
नोवेल विश्व शान्ति पुरस्कार बिजेता सत्यार्थीले मध्यपश्चिम विश्वविद्यालयलाइ उक्त अवसर प्रदान गरे पश्चात विश्वविद्यालयको कार्यकारी परिषद् र प्राज्ञिक परिषद् बाट उक्त कुरा आधिकारिक रुपमा पारित भईसकेको उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहले जानकारी दिए ।
मपवि अन्तर्गत रहेको ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सेज अन्तरगत बाल शोषण, सबैका लागि शिक्षा लगायत अन्य बाल अधिकार र न्यायका क्षेत्रमा वार्षिक रूपमा कम्तीमा पनि एकजना विद्यार्थीलाई विद्यावारिधि अध्ययनका लागि ‘कैलाश सत्यार्थी चेयर ’ स्थापना भएको सिंहले बताए ।
गत बैशाख ६ गते वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोहमा नोवेल विश्व शान्ति पुरस्कार बिजेता कैलाश सत्यार्थी प्रमुख अतिथिको रुपमा उपस्थित भई प्राज्ञिक प्रवचनद्वारा विद्यार्थीहरुलाई दीक्षित गरेका थिए । साथै शैक्षिक उन्नयनका लागि सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यसरी स्थापना भएको ‘कैलाश सत्यार्थी चेयर ’कार्यक्रमलाई भविष्यमा विश्वविद्यालयको संस्थागत कोशेढुङ्गाका रूपमा प्रवर्द्धन गर्दै अगाडी बढाईने कुरा उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहले व्यक्त गरे ।










प्रतिकृया दिनुहोस्