- १५ मंसिर २०७९, बिहीबार १५:५४
बनेपा नगरपालिका–८ स्थित बहि टोलबाट हराएको अष्टधातुबाट निर्मित शाक्यमुनि बुद्धको मूर्तिको ४८ वर्षपछि प्रतिस्थापन गरिएको छ । २०३१ सालमा बहि मन्दिरबाट हराएको शाक्यमुनि बुद्धको मूर्ति भेटिएपछि बुधबार स्थानीय र नगरपालिकाको संयुक्त पहलमा त्यही ठाउामा प्रतिस्थापन गरिएको हो । ४८ वर्षपछि भेटिएको मूर्तिलाई बाजागाजासहित बनेपा बजार परिक्रमा गरी प्रतिस्थापन गरिएको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले जानकारी दिए । उनका अनुसार गुर्जुहरुले (शाक्य समुदायको पुजारी) मन्दिरमा पूजापाठ गरेर उक्त मूर्ति प्रतिस्थापन गरिएको हो । बहि मन्दिरबाट हराएको २६ इन्च लम्बाइ र ८० केजी तौल भएको शाक्यमुनि बुद्धको मूर्ति २०३१ सालमा हराएको थियो । मूर्ति हराएपछि महिनौसम्म स्थानीय, प्रहरी र प्रशासनले महिनौंसम्म खोजी गरे । मूर्तिमा लगाइएको माला बनेपाको करुणामार्गस्थित नागपोखरी नजिकै भेटिएपछि सोही स्थान वरपर मूर्ति भेटिने आशंकामा पोखरी सफा गरेर पनि खोज्ने प्रयास गरिएको बहि ज्ञानमाला भजन खल: का अध्यक्ष नरेन्द्रराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार बनेपा आसपासका बजार क्षेत्रमा धेरैसम्म खोजियो तर कही भेटिएन । ‘भेटिने आश पनि मारिसकेका थियौं,’ उनले भने । मूर्ति हराएपछि बहि ज्ञानमाला भजन खल:का पदाधिकारीले मूर्ति खोजिदिन पुरातत्व विभागलाई अनुरोध गरेको थियो । खोज्दै जाने क्रममा २०३५ सालमा काठमाडौंको एयरपोर्टमा भेटिएपछि विभागले सो मूर्ति सुरक्षाका लागि राष्ट्रिय संग्राहलयमा राखेको राष्ट्रिय संग्राहलयका निर्देशक जयराम श्रेष्ठले जानकारी दिए । भेटिएको मूर्ति मन्दिरमा प्रतिस्थापनका लागि बहि ज्ञानमाला भजन खल:बाट माग भएतापनि मन्दिरको जिर्ण अवस्था र असुरक्षाका कारण पुरातत्व विभागले मूर्तिलाई संग्राहलयमै राखिएको निर्देशक श्रेष्ठले बताए ।बहि ज्ञानमाला भजन खल:ले २०७१ सालदेखि नै मूर्तिलाई मन्दिरमा प्रतिस्थापन गर्ने तयारी गरेको थियो । तर २०७२ सालको भूकम्पका कारण मन्दिरमा पनि सामान्य क्षति भयो । २०७५ सालमा मन्दिरको पुर्न:निर्माण गर्न पुरातत्व विभागले निर्देशनका साथै १ करोड रुपैयाँ बजेट विनियोजन गर्यो । दुई वर्षमा मन्दिरको पुन:निर्माण सम्पन्न गरेपछि बहि ज्ञानमाला भजन खल:ले मूर्ति प्रतिस्थापनका लागि विभागलाई पुन: पत्रचार गरेको बहि ज्ञानमाला भजन खल:का अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार मूर्ति प्रतिस्थापनका लागि सबै कागजात जुटाउन अलि समय खर्चिनुपर्यो । ‘२०७९ मा भदौमा विभागले मन्दिरको अनुगमन गर्यो, अनुगमनपश्चात सबै ठिक छ भनेर मूर्ति प्रतिस्थापनका लागि विभागले स्वीकृति दियो,’ उनले भने, ‘मूर्ति प्रतिस्थापनको लागि उत्तम साइत मंसिर १४ गते जुर्यो, संग्राहलयबाट मूर्ति फिर्ता ल्याउन सफल भयौं । ’ लामो समयपछि मूर्तिलाई फिर्ता ल्याइ मन्दिरमा प्रतिस्थापन गर्न सक्नु नै नगरको लागि ठूलो सफल्ता भएको बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । उनका अनुसार मूर्ति र मन्दिरको सुरक्षाका लागि सीसी क्यामेरा, साइरन, बत्ती, लगायत मजबुत संरचनाको व्यवस्थापन गरिएको छ । मूर्तिको संरक्षण गर्नु स्थानीय, समुदाय, नागरिक समाज सबैको दायित्व भएको बताउादै नगर प्रमुख शाक्यले भने, ‘यो मन्दिरसँगै नगरमा रहेका अन्य मठमन्दिर, गुम्बाहरुको संरक्षणका लागि पनि नगरपालिकाले कार्ययोजना बनाएर काम गरिरहेको छ ।’










प्रतिकृया दिनुहोस्