- २० असार २०७९, सोमबार २१:३०
असार २०, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको संशोधनलाई सभाले सर्वसम्मतिले पारित गरेको हो ।
मा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको छलफलमा जवाफ दिँदै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मन्त्री पौडेलले त्यसरी कानुनविपरीत शुल्क लिने संस्था र व्यक्तिहरुबारे जानकारी भए अवगत गराउन सांसद्हरुलाई आग्रह पनि गरे । मन्त्री पौडेलले चिकित्सा शिक्षासम्बन्धी सबै विषय चिकित्सा शिक्षा आयोगले हेर्ने भएको र विश्वविद्यालयका हकमा सम्बन्धित विश्वविद्यालयको कार्यकारीले निर्णय गर्ने स्पष्ट पारे ।
मन्त्री पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी हुन नदिन सरकार सचेत रहेको पनि बताए । मन्त्री पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी सदाका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरुले पठनपाठनसम्बन्धी उठाएका अन्य मागहरुको सम्बोधन गर्न गम्भीर छलफल र संवाद गर्ने बताए । ‘विश्वविद्यालयसँग सम्बन्धित पठनपाठनमा केही समस्या आयो भने वार्ता, सहमति र संवादको माध्यमबाट हल गर्ने हो ।’ सम्बोधनका क्रममा उनले भने, ‘चाबी लगाउने, तालाबन्दी गर्ने, डिस्टर्व गर्ने, प्रशासनिक काम गर्न नदिने, परीक्षा प्रणालीलाई डिस्टर्व गर्ने कुरा राम्रो हुँदैन ।’










प्रतिकृया दिनुहोस्