- २९ चैत्र २०७८, मंगलवार १९:०२
चैत २९, काठमाडौं । काठमाडौं-विश्वविद्यालय स्कूल अफ एजुकेशन (कुसोड)ले तीनवटा पुस्तक विमोचन गरेको छ । गत चैत २५ गते एक कार्यक्रमका विच आर्थिक विकासका लागि सीप विकासका विभिन्न आयाम सम्वन्धी तीन पुस्तक विमोचन गरेको हो ।
स्कूल अफ एजुकेशनका डीन प्रा.डा.बालचन्द्र लुइँटेल, गण्डकी प्रदेशका अर्थ सचिव बैकुण्ठ प्रसाद अर्याल र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले पुस्तक विमोचन गरेका थिए ।
लेखक अनिलमुनी बज्राचार्य, सुनिल बनिया र विकास घजुले नेपालका प्राविधिक तथा व्यावसायिक शिक्षाका मुख्यपक्षहरुमा गरेका आ–आफ्ना व्यक्तिगत अनुसन्धानहरुलाई पुस्तकको रुप दिइएका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै “टिभेट फर इन्कम” प्रोजेक्टका प्रमुख महेशनाथ पराजुलीले अनुसन्धानका नतिजाले नीतिगत निर्णयमा योगदान दिने कुरा व्यक्त गरे । “यो पुस्तक विमोचन कार्यक्रमको उद्देश्य अनुसन्धानका मुख्य नतिजालाई धेरै भन्दा धेरै व्यक्तिहरु माझ पु¥याउनुका साथै प्राज्ञिक र नीति निर्माता विचसेतुको काम गराउनु हो ।” उनलु भने ।
प्रा.डा. लुइँटेलले ७०,००० टिभेट विद्यार्थीहरु रहेको वर्तमान परिवेशमा टिभेट प्रशिक्षक र टिभेट व्यवस्थापकमा तयारी गर्नु पर्नेमा जोड दिए । उनले नेपालमा धेरै संख्यामा प्राविधिक प्रशिक्षकहरुको माग रहेको जानकारी गराउँदै विटेक एडकोे विभिन्न कार्यक्रममा कुसोडले २०० प्रशिक्षार्थी भर्ना गरी प्राविधिक प्रशिक्षक उत्पादनका लागि कक्षा सञ्चालन गरिसकेकोे जानकारी दिए ।
कार्यक्रममा बोल्दै बैकुण्ठ प्रसाद अर्यालले पुस्तकहरुमा भएका अनुसन्धानात्मक नतिजाले अन्य विद्यार्थीलाई थप अध्ययन अनुसन्धानका लागि पृष्ठभूमि प्रदान गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विषय विगतमा प्राथमिकतामा नपरे पनि हालआएर यसको महत्व बढेको स्पष्ट पारे ।
पुस्तकका लेखक बज्राचार्यले “नेपालमा प्रि–डिप्लोमाको टिभेट पाठ्यक्रम निर्माणमा रोजगार दाताहरुको सहभागिता”मा किन रोजदारदाताका माग ग्राजुएटले पूरा गर्न सक्दैनन् भन्ने बारे अनुसन्धान गरेका छन् । उनले पाठ्यक्रम निर्माण चरणमा रोजगार दाताहरुको अर्थपूर्ण सहभागिता नभएको पाइएको बताए ।
पुस्तकका अर्का लेखक बनियाले “वैदेशिक रोजगारीबाट फर्केका कामदारहरुले आर्जित सीपलाई आफ्नो देशमा प्रयोग : नेपालमा एक सर्वेक्षण” मा फर्केका कामदारहरुले ल्याएका सीपहरु र चक्रिय बसाईसराइमा तिनको प्रयोगबारे अध्ययन गर्न उत्सुक रहेकोले उक्त अनुसन्धान गरेको जानकारी दिए । उनले गरेका धेरै अनुसन्धानका निष्कर्षहरु मध्ये पुनः समायोजन निर्देशिकाको अभाव र फर्केका कामदारहरुको कुनै सीप अभिलेख नहुनु मुख्य समस्या देखाएका छन् ।
त्यस्तै अर्का लेखक घजुले आफ्नो पुस्तक“सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) प्रशिक्षकहरुका शिक्षण–सिकाइमा अनुभव”मार्फत प्राविधिक विद्यालयहरु र साधारण शिक्षामा प्राविधिक कार्यक्रम सञ्चालित विद्यालयहरुमा प्रशिक्षकहरुको धारणालाई अध्ययन गरे । उनका केही मुख्य निष्कर्षहरुमा प्राविधिक शिक्षकलाई साधारण शिक्षक जस्तो सेवा सुविधा नहुनु र प्राविधिक विद्यालयको रोजगार दाताहरुसँग राम्रो सम्वन्धहुनु रहेका छन् । साथै प्राविधिक शिक्षकहरुले शिक्षण पेशालाई आंशिक रोजगारीको रुपमा लिएको र अन्त राम्रो अवसर पाए कुनै पनि बेला उक्त पेशा छोड्न सक्ने संकेत गरेको उल्लेख गरे ।
कुसोडका वाह्य मामिलाका सहायक डीन डा. प्रकाशचन्द्र भट्टराईले पुस्तक सरोकारवालाका दराजहरुमा सज्जिने र ती पुस्तकहरुले उठाएका मुद्दा र सुझावलाई अन्य अनुसन्धान कर्ताहरुले साभार गर्ने कुरामा विश्वस्त भएको भनाई राखे ।










प्रतिकृया दिनुहोस्