- ३१ जेष्ठ २०८२, शुक्रबार ०८:४९
सङ्घीय सरकारको घुम्नैपर्ने सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। पूर्वी नेपालको सुन्दर र शान्त क्षेत्र भएकाले यसलाई तपोभूमिका रूपमा अघि बढाउने योजना बनाइएको हो।
प्राकृतिक सुन्दरताले भरिपूर्ण मुन्दुम पदमार्गलाई पर्यटकीय, योग, ध्यान, अनुसन्धान र तपोभूमिको केन्द्र बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध काम गरिने उनको भनाइ छ। समथर घाँसे मैदानहरू रहेकाले यो क्षेत्रलाई गल्फ क्षेत्रका रूपमा पनि विकास गर्न सकिने सम्भावना रहेको उनले उल्लेख गरे।
‘यो पूर्वको सुन्दर पदमार्ग हो,’ अध्यक्ष बस्नेतले भने, ‘यो क्षेत्र शान्त र रमणीय छ। हामीले यसलाई तपोभूमिका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ। यहाँ यात्रा गर्दा आगन्तुकले ऊर्जाको अनुभूति गरेको प्रतिक्रिया दिएका छन्।’
पदमार्गलाई ट्रेकिङ र शान्त तपोभूमिका रूपमा विकास गर्न सडक निर्माणमा रोक लगाइएको बस्नेतले बताए। प्राकृतिक स्वरूप जोगाउन पालिका सजग रहेको र योग, ध्यान, साधनाका लागि हप्तौँ बिताउन सकिने वातावरण बनाउने योजना रहेको उनले उल्लेख गरे।
पूर्वको सहज, सरल, शान्त र सुन्दर पदमार्ग भएकाले पर्यटकीय गतिविधि विस्तारको योजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताए। छोटो समयमा पर्यटक सङ्ख्या बढेपछि पूर्वाधार विकासमा जोड दिइएको उनको भनाइ छ।
प्राकृतिक सुन्दरताले भरिएको टेम्केमैयुङ गाउँपालिकामा पर्यटन र कृषि विकासलाई प्राथमिकता दिइएको उपाध्यक्ष रमादेवी राईले बताइन्। मुन्दुम पदमार्गमा आउने पर्यटकका लागि चखेवामा पर्यटन सूचना केन्द्र बनाइएको उनले जानकारी दिइन्।
सूचना केन्द्रबाट पदमार्गको विशेषता, भौगोलिक अवस्था, घुम्नुपर्ने स्थान, यात्राको समय, आवास व्यवस्था र सुरक्षित यात्राबारे जानकारी दिइने राईले बताइन्।
‘यो पदमार्ग पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ,’ उनले भनिन्, ‘हामी यो क्षेत्रको बृहत् विकासमा जुटेका छौँ। पदमार्गलाई साधना स्थलका रूपमा विकास गर्ने योजना छ। गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर काम गरिरहेको छ।’
पदमार्गबाट सगरमाथा, ल्होत्से, मकालु, कञ्चनजङ्घालगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला एकसाथ देख्न सकिने पर्यटन व्यवसायी विवेक कुलुङले बताए।
हावापानी सन्तुलित भएकाले यो क्षेत्र पर्यटकको रोजाइमा परेको टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताए। बर्सेनि यहाँ भ्रमण गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ।
पदमार्ग हुँदै भोजपुरको चार हजार १५३ मिटर उचाइमा रहेको सिलिचुङ चुचुरोसम्म पुग्न सकिन्छ। किराँत संस्कृति झल्काउने संरचना, घाँसे मैदान, चौँरी र भेँडीगोठले पर्यटकलाई आनन्दित बनाउने गर्छ। रासस










प्रतिकृया दिनुहोस्