- १० जेष्ठ २०८२, शुक्रबार १८:५९
चितवन । चितवन जिल्लाको माडी नगरपालिकामा अवस्थित श्री बाल कल्याण आधारभूत विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्र शुसाङ्क सुवेदीलाई छात्रवृत्ति प्रदान गरिएको छ।
‘सेवा र विकासका लागि युवा’ नामक संस्थाको समन्वय र अमेरिकास्थित ओरेगन नेपाली समाजको आर्थिक सहयोगमा उक्त छात्रवृत्ति वितरण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै कोषाध्यक्ष सापकोटाले विद्यार्थीहरूलाई देशका गहना र भविष्यका कर्णधारको रूपमा चित्रण गरे। उनले भने, “भोलिको नेपाल विद्यार्थीहरूको हातमा छ। तसर्थ, आज नै उनीहरूलाई आवश्यक सहयोग र अवसर उपलब्ध गराउनु हामी सबैको साझा दायित्व हो।”
संस्थाका संयोजक शर्माले पनि विद्यार्थीहरूलाई संस्कारयुक्त शिक्षा दिन सकिएको खण्डमा मुलुकका सबै क्षेत्रमा दीर्घकालीन रूपान्तरण सम्भव हुने विश्वास व्यक्त गरे। “आजको लगानीले भोलिको नेतृत्व निर्माण गर्छ,” उनले भने।
प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति सदस्य बाबुराम सुवेदीले यस्ता कार्यक्रमले विद्यार्थीहरूको मनोबल वृद्धिमा टेवा पुग्ने धारणा राख्दै विद्यालयमै अन्य सकारात्मक कार्यक्रम सञ्चालन गर्न संस्थालाई आग्रह गरे। उनले भने, “विद्यार्थी काँचो माटोजस्तै हुन्। यिनलाई सही दिशा दिन अभिभावक, शिक्षक, समाज र सरकार सबैको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ।”
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उपस्थिति पनि उल्लेखनीय रहेको थियो। आयोजक संस्थाले आगामी दिनमा अन्य विद्यार्थी लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
कार्यक्रममा ‘सेवा र विकासका लागि युवा’ का राष्ट्रिय कोषाध्यक्ष राजु सापकोटा, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सम्पर्क प्रमुख विष्णु पंगेनी, गण्डकी प्रदेश संगठन सचिव नारायण तिमिल्सिना, संस्था संयोजक प्रकाश कुमार शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरधारी सुवेदी, चितवन जिल्ला समन्वय समिति सदस्य बाबुराम सुवेदी तथा विद्यालयका प्रधानाध्यापक केशवराज अधिकारी सहभागी थिए।










प्रतिकृया दिनुहोस्