- ८ फाल्गुन २०८१, बिहीबार २०:५२
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) को एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले आत्महत्याको प्रयास गरेको विषयमा छानबिन सुरु भएको छ ।
स्कुल अफ मेडिकल साइन्सका डिन डा. मनोज हुमागाईंका अनुसार आवासीय चिकित्सक समेत रहेकी उनले गत ४ फागुन (आइतबार) मा आत्महत्याको प्रयास गरेकी थिइन् । ‘औषधिको ओभरडोज रहेछ । धुलिखेलमै उपचार भयो । अवस्था सामान्य बनेपछि आईसीयूबाट वार्डमा सारेर पनि आज (बिहीबार) डिस्चार्ज भयो,’ डा. हुमागाईंले भने ।
सामाजिक सञ्जालमा मनोचिकित्सा विभागका प्राध्यापकबाट यातना दिएको विषय उठिरहेको छ । तर, के कारणले उनी यो स्थितिमा पुगिन् भन्नेबारे पहिचान भएको छैन ।
‘उहाँ मनोचिकित्सा नै पढिरहनुभएको छ । प्राध्यापकबाट केही भएको हो वा होइन उहाँसँग कुरा गरेका छैनौं । स्वास्थ्य ठीक भएपछि जे भएको हो त्यो म सँग राख्न भनेको छु,’ डिन हुमागाईंले भने, ‘सामाजिक सञ्जालमा आएकै आधारमा कसैलाई कारबाही गर्ने भन्ने हुँदैन । लिखित रूपमा कुनै उजुरी पनि आएको छैन ।’
मनोचिकित्सा विभागका विषयमा प्रश्न उठेपछि विभागका प्राध्यापकलाई पनि विद्यार्थीको भावना बुझेर पढाउन निर्देशन दिइएको डिन हुमगाइँले बताए ।
‘साइकोलोजीको विभाग हो । हामीले भन्दा उहाँहरूले बढी बुझ्नुहुन्छ । विभागका सबैलाई राखेर अहिलेको पुस्ताको भावना बुझेर पढाउन निर्देशन दिएका छौं,’ उनले भने ।
डिन हुमागाईंका अनुसार आत्महत्याको प्रयास गरेकी आवासीय चिकित्सकले पनि आफू ठीक रहेको र कसैलाई आरोप लगाउनु आफ्नो उद्देश्य नरहेको बताएकी छिन् । ‘दुईपटक भेटेर कुरा गरेको छु । केही दिन आराम गरेर फर्किने भन्नुभएको छ,’ उनले भने ।










प्रतिकृया दिनुहोस्