- ५ फाल्गुन २०८१, सोमबार २२:३०
भुवनेश्वर । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (ABVP) ले नेपाली विद्यार्थीमाथिको अन्यायविरुद्ध आन्दोलन सुरु गरेको छ।
ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपश्चात् विरोधमा उत्रिएका नेपाली विद्यार्थीहरूलाई कलेज प्रशासनले निष्कासन गरेपछि भारतीय विद्यार्थी संगठनले कलेज प्रशासनविरुद्ध कडा प्रतिक्रिया दिएको हो।
नेपाली विद्यार्थीलाई निष्कासनप्रति कडा आपत्ति
कलेज प्रशासनले रातारात नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालेर रेलवे स्टेसन पुर्याएको घटनाले ABVP आक्रोशित बनेको छ। परिषद्ले कलेज प्रशासनले नेपाली विद्यार्थीहरूसँग माफी माग्नुपर्ने र उनीहरूलाई पुनः छात्रावासमा फर्काउनुपर्ने माग गरेको छ।
परिषद्का राष्ट्रिय कार्यकारिणी सदस्य विश्वजित पात्रले रेलवे स्टेसनमा अलपत्र परेका नेपाली विद्यार्थीका लागि खानपान र आवासको व्यवस्था विश्वविद्यालयले नै गर्नुपर्ने माग राखेका छन्।
मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग
परिषद्ले मृतक छात्राका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै विश्वविद्यालय प्रशासनको अमानवीय व्यवहारप्रति घोर आपत्ति जनाएको छ।
परिषद्का ओडिसा सचिव बुद्धदेव बागले रेलवे स्टेसनमा पुगेका नेपाली विद्यार्थीहरूलाई भेट्दै कलेज प्रशासनसँग वार्ता सुरु गरेको बताएका छन्। उनले भने, “नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालेर रेलवे स्टेसनमा छोड्ने विश्वविद्यालय प्रशासनको निर्णय निन्दनीय छ। यस्तो विभेदकारी निर्णय गर्नेहरूलाई तत्काल कारबाही गर्नुपर्छ।”
कलेज प्रशासनमाथि दबाब बढ्दै
ABVP को प्रदर्शनले घटनाले नयाँ मोड लिने संकेत देखिएको छ। कलेज प्रशासनले यस विषयमा तत्काल कदम नचाले भारतभित्रै नेपाली विद्यार्थीको सुरक्षाको विषय गम्भीर विवादको रूपमा उभिन सक्ने भारतीय विद्यार्थी संगठनले चेतावनी दिएको छ।










प्रतिकृया दिनुहोस्