- २३ माघ २०७८, आईतवार १३:१८
काठमाडौँ , चिरन्जीवि भट्टराई । विद्यालय , महाविद्यालय, विश्वविद्यालय र कयौं सरस्वतीका मन्दिरहरु यतिखेर सिंगारपटारमा सजिएका छन् । विद्याकी अधिष्ठात्री, ज्ञानविज्ञान र कलाकी साक्षात् देवी, साहित्य, सङ्गीतकी जाज्ज्वल्यवान् दीप्ति ‘सरस्वती’ परा एवं अपरा शिक्षाका साधक, वाद्ययन्त्रकावादक र शिल्प प्रवीणहरुको आराध्य माताको रुपमा हाम्रो संस्कृतिमा युगौंदेखि सम्मान्या र सम्पूज्या भएर रहेकी छिन् । हाम्रा त्रिदेव–ब्रह्मा, विष्णु र महादेवले समेत बन्दना गर्ने उनको नमनीय कीर्तिगाथा अनादिकालदेखिकै अभिन्न सात्विक श्रद्धा बनेर नेपाली समाजमाआलोकित छ । त्यसैले त स्तोत्ररत्नावलीले स्तवनको क्रममा नमन गर्दै भनेको छ ।
ब्रह्मा जगत् सृजति पालयतीन्दिरेशः ।
शम्भुर्विनाशयति देवि तव प्रभावैः ।।
न स्यात्कृपा यदि तव प्रकटप्रभावे ।
न स्युः कथञ्चिदपि ते निजकार्यदक्षाः ।।
अर्थात् हे देवी, तिम्रै प्रभावबाट ब्रह्मा जगत्को रचना गर्नुहुन्छ , विष्णुले संसारको पालन–पोषण गर्दछन् अनि शिवले संहारलाई निरन्तरता दिन्छन् । हे प्रभावशाली १ देवी, यदि यी त्रिदेवमा तिम्रो कृपा नहुने हो भने उनीहरुले दक्षतापूर्व आ–आफ्ना कार्यभार संपन्न गर्न सक्तैनन् ।यसरी सरस्वती सिर्जना , उन्नयन र लयका मूल कारक पात्रहरुको निर्देशकको रुपमा रहेर वाणीका सारथी बनेकी छिन् अनन्तसम्म । त्यसैले अक्षरका खेती गर्ने तमाम वाङ्मय साधकहरु यस्ता शब्दमा आराधना गर्दछन् ।
–‘या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्राभृता । या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।। या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदावन्दिताः । सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।’
अर्थात् जो कुन्दको पूल, चन्द्रमा, हिउ र हारको समान सुन्दर छिन्, जसले सधैं सेता कपडामात्र पहिरिरहन्छिन्, जसको हात उत्तमवीणाबाट सुशोभित छ, जो सेतो कमलको आसनमाथि बस्दछिन् । त्रिदेवहरु जसको सधैं स्तुतिगान गर्दछन्, जसले सबै किसिमकोजडतालाई हर्दछिन् त्यस्ती सरस्वतीले मेरो पालन गरुन् । यिनै प्रशंसनीय वचनहरुमा शारदा मातालाई संस्मण र श्रध्दा पोखिने प्रचलनसृष्टिदेखि नै चल्दै आएका हुन् ।
वेदमा जलदेवीको रुपमा सम्बोधित हुने सरस्वती जैन धर्ममा ‘श्रुतिदेवी’ बौद्ध धर्ममा ‘प्रज्ञा देवी’ भनेर विविध नाममा उच्चारण एवं अर्चनागरिन्छ । यो शुभ दिनलाई ‘वसन्त पञ्चमी’ श्री पञ्चमी’ ‘माघी पञ्चमी’ सरस्वतीपूजा, ज्ञानविज्ञान तथा कलाकी देवीको जन्मोत्सव, आदि नामले संस्मरण, पुकारा र संबोधन गरिन्छ । वर्षभरि आउने पञ्चमीहरुमध्ये विशेष गरेर नाग पञ्चमी, ऋषि पञ्चमी, ‘विवाहपञ्चमी’ र श्री पञ्चमी महत्वपूर्ण छन् । यी पञ्चमीमा पनि अझ गुरुतम महिमा श्री पञ्चमीको नै रहेको छ ।
‘श्री’ शब्द जोडिएको र सन्त वसन्ततिर मोडिएको प्रतीक दिवस भएकाले सबै पञ्चमीमध्ये श्रीपञ्चमी उदात्त र पावन पर्वको रुपमा रहेकोछ । ‘श्री’ भन्नाले ९विद्या, बुद्धि, सम्पन्नता, रुप गुण आदिका शक्ति वा पूर्णताद्वारा झल्कने शोभा, कान्ति वा दीप्तिलाई संकेत गर्दछ ।‘पञ्चमी’ को आसय–चान्द्रमासका आधारमा प्रत्येक महिनामा आउने शुक्ल पक्ष एवं कृष्ण दुबै पक्षको पाँचौ पवित्र दिन भन्ने बुझिन्छ ।यसरी श्री पञ्चमी अभिनव वसन्तको सिर्जना गर्ने पुण्य तिथि भएकैले सो दिनबाट पुस्तक, कलम, कापी, शिल्पकलाका औजार रवाद्ययन्त्रहरुको पूजा गरी ती ती क्षेत्रतिर नयाँ सिकारुहरुलाई सिकाइ गर्ने आरम्भ दिनको रुपमा लिइन्छ । विवाह, ब्रतवन्ध, नाक–कानछेड्ने, नयाँ बाच्छाहरु दाउने, नयाँ तन्त्र–मन्त्र सिक्ने विशेष पर्व मनाउँदै बाह्रखरीको शुभारम्भ गराएर शिशु पुस्तालाई ज्ञानमार्गको नयाँराजपथतिर उन्मुख गराउने चलन हाम्रो संस्कृतिको रुपमा रहँदै आएको छ । श्री पञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ । यस सम्बन्धमाएउटा घत लाग्दो मिथक पुराणहरुमा भेट्टाइन्छ । एक पटक ऋतुहरुका राजा वा श्रेष्ठ वसन्त ऋतुको सम्मान कार्यक्रमको आयोजना अन्यपाँच ऋतुहरु ९ग्रीष्म, वर्षा, शरद्, हेमन्त, शिशिर० जम्मा भएर सम्पन्न गर्ने विचार गरेछन् । यसै क्रममा आफ्ना राजा वसन्तलाई अभिवादनगर्दै पाँचवटा ऋतुहरुले आफ्नो ऋतु कालबाट आठ–आठ दिन वसन्तलाई समपर्ण गरेछन् यसैले वसन्त ऋतु अरु ऋुतु भन्दा ४० दिन बढीधरामा हराभरा भएर हिमाल, पहाड, तराईका गरा–गरामा कुसुमाकर बनी सुन्दरता तथा सुगन्धमा लोकजीवनलाई आह्लादित बनाउने हुँदायही दिनदेखि वसन्त याम आएको हो । यसैले यो पवित्र दिनलाई वसन्त पञ्चमीको नामले सम्मान र श्रद्धा वर्साइएको मान्यता छ ।बिहान उठ्ने बित्तिकै विद्याभ्यासी सात्विक मुटुहरु हात हेर्दैै भन्छन् –
“कराग्रे वसते लक्ष्मीः करमध्ये सरस्वती ।
करमूले स्थितो ब्रह्मा प्रभाते करदर्शनम् ।।”
अर्थात् हातको अधिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ । अतः बिहान उठ्ने वित्तिकै आफ्ना हातकोदर्शन गर्नु ।” यसरी यही कर्मवादी हातलाई ब्रह्माको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्य भागमा सरस्वतीलाई राखेर कति मीठो प्रतिकात्मक आसयको सन्देश दिएको छ ।
विद्यार्थीले पढ्नुभन्दा अघि, सङ्गीत साधकले वाद्यवादन बजाउनु अधि र शिल्पकारहरुले कलाकौशल निर्माण गर्नुभन्दा पहिलेसरस्वतीको प्रार्थना र वन्दना गर्दछन् । अझ पूर्वीय काव्य शास्त्रीहरुले त आफ्ना रचना निर्वाध रुपमा सम्पन्न होस् भनेर सरस्वती माताप्रतिभक्ति अञ्जली बाँधेर मङलाचरणामा कति नम्र, शुभ्र गीत कविता स्तवनको रुपमा प्रस्तुत गरेका छन् । सरस्वतीको वन्दना प्रार्थना तथाअभ्यर्थना कति सुन्दर र गम्भीर छन् ।
जस्तै–
आरुढाःश्वेतहंसे भ्रमति च गगने दक्षिणे साक्षसूत्रम् ।
वामे हस्ते च दिव्यां वरकनकनयं पुस्तकं ज्ञानगम्या ।।
सा वीणां वादयन्ती स्वकरकरजपैः शास्त्र विज्ञान शब्दैस्।
क्रीडन्ती दिव्यरुपा करकमलधरा भारती सुप्रसन्ना ।।”
यसरी यी उन्मुक्त एवं उदात्त भक्तिवाणीले ध्यान गरेर मनोविकारबाट रहित हुँदै आफ्नो पाठको थालनी गर्ने प्रचलन छ । सरस्वतीकाप्रार्थना र स्तुतिहरुमा उनको दिव्य रुपको वर्णन हातमा लिएका उपकरणहरुको नाम तथा उनको वाहनको उल्लेख गरेको छ । सेतोहाँसलाई आफ्नो विवेकको सवारी साधन बनाएर दिव्य ज्ञानले अभिसिञ्चित मानिस रजहाँस जस्तै दूधको दूध पानीको पानी छुट्याउन सक्ने विवेकी बन्न सक्छ भन्ने संकेत गरेको छ भने सेतो कपडाले सौम्भ विचारको जागरण र वैज्ञानिक दृष्टिले सूर्यले फाल्ने परावैजनीकिरणबाट सुरक्षा गर्ने जानकारी दिइएको छ । मालाले ध्यान र एकाग्रताको संकेत गरेको छ भने कमलको फूलले संसार रचनाको आदिमसमयलाई संकेत गरेको छ । वास्तवमा सरस्वतीको प्रार्थनाभित्रका आसयलाई गुरु गम्भीर रुपमा बुझ्ने हो भने अत्यन्त गहिरो सारपूर्ण रप्रतीकहरु दिएर हामी सम्पूर्ण सिकारुलाई सात्विक संसारमा विचरण गरी परा–अपरा विद्यालाई ग्रहण गर्नुपर्छ भन्ने आदर्श घनीभूतभएको छ । नेपालका हिमाल, पहाड, र तराईका सबै भागमा कतै सरस्वतीको आकृति निर्माण गरेर, कतै तस्विर सजाएर कतै मन्दिरलाई सिंगारेर ज्ञानमार्गीहरुले सरस्वती पूजा गरिरहेका छन् । विद्यालय, महाविद्यालय, विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठान र ज्ञानसङ्ग मस्थलहरुमा विशेष प्रकारको मेला लागेको छ । सरस्वतीमा समर्पित विभिन्न भाषाका भजन कीर्तन, झाँकी र सांस्कृतिक कार्यक्रमले नयाँ वसन्तको आगमनलाई स्वागत गरिरहेका हुन्छन् । काठमाडौं लगायत देशभरका सरस्वती मन्दिरमा आज बेग्लै चहलपहल र अभ्यर्चना छ भने कतिपय स्थानमा उनको मूर्ति खडा गरेर जल्दो बल्दो प्रतिकृतिमा कला कौशल खन्याउँदै अनन्य श्रद्धा रआस्थाका स्निग्ध धारा भक्तहरु बहाइरहेका छन् । वास्तवमा इहलोकलाई उपभोग गर्न सक्ने र परलोकलाई उज्ज्वल बनाउने पुरुषार्थ सरस्वतीकै असीम कृपा हो । भनिएको छ ।
“सुवर्ण पुष्पितां पृथ्वी, विचिन्वन्ति नराःस्त्रयस्।
शूरश्च कृत विद्यश्च, यश्च जानाति सेवितुम् ।”
अर्थात् विशाल पृथ्वीमा फुलेको सुनौला फूल तीन जनाले मात्र टिप्न सक्छन् । ती हुन्– १, शूरवीर, २। आध्यात्म एवं भौतिक विद्या पढेको, ३। सेवा नै धर्म हो भनेर समाज सेवामा सरिक हुने । शौर्य वा पराक्रम आर्जन गर्न ज्ञान नभै सम्भव छैन, परा–अपरा विद्यामा सरस्वतीको दृष्टि अनिवार्य पर्नेै पर्छ । सेवाको भाव जगाउन “परोपकार पुण्याय पापाय परपीडनम्”को शारदावाणीलाई अनुशरण गर्नेैे पर्ने हुँदासरस्वतीभन्दा महान् कोही छैन । हिजो आज प्रार्थना ध्यान, स्तवन, चिन्तन, मनन, जिज्ञासा गर्ने बानी हराउँदै गएको देख्दा शिक्षणकेन्द्रहरु औपचारिक रुपमा उपाधिको लालपूर्जा बाँड्ने अड्डामा परिणत भएका छन् । पाठ्यक्रम, पाठ्पुस्तक शैक्षिक नीति र योजनाकेवल देखाउने दाँत मात्र भै रहेको छ । सरकारी विद्यालयहरु अधिकांश पाटे अल्छी र पढ, पढ भन्नेहरुको सेपले चेपाचेप छ भने निजीविद्यालयहरु अनाथ बालबालिकालाई कितावको भारी बोकाएर भेषभुषाको बहार थप्दै निश्चित प्रश्नोत्तर घोकाएर धेरै पास गराउन तथाझर्रो शब्दमा भन्नुपर्दा लुट्न मै अभ्यस्त छन् ।
त्रिभुवन विश्वविद्यालय जस्तो देशको जेठो उच्च शिक्षास्थल जो २ सय बीस दिन पढाई हुनुपर्छ जम्मा मात्र नब्बे दिन अध्यापन हुन्छ, जहाँचारलाखभन्दा बढी विद्यार्थी पढ्छन् उत्तीर्ण प्रतिशत भने जम्मा १४५मात्र छ । बन्द, हड्ताल र रणभूमिको स्थल बनेका छन् नेपालकाशिक्षण संस्था । अनि राजनीतिक आन्दोलनका सस्ता औजार बनाइएका छन् विद्यार्थीहरु ।
यतिखेर नेपालमा गेस पेपरले शिक्षालाई पूरै लेते चलाइ सकेछ, कहाँ सम्मभने कक्षा ४ र ५ को अंग्रेजीको समेत गेस पेपर छ्यासछ्यास्तीछन् । कक्षा ६ देखि माथिका त सबै विषयका गेस पेपर कोखाइ छन् । देशभरका ८०५ विद्यार्थीमा गेस पेपरको लत छ । गेसपेपरै चिटआकारका बनेकाले परीक्षा हलमा फिटफिट सार्ने प्रचलन व्यापक छ ।
विस्तारै विद्यार्थीमा सिर्जनाशीलता ह्रास हुँदै छ, विश्लेषण र मौलिक सिर्जनाभन्दा चिट चोर्ने प्रवृत्तिलले बाढी ल्याएको छ । विगतका एस्एलसी । परीक्षामा २ हजारभन्दा बढी विद्यार्थी त चिट चोर्दा निष्काशनमा परेका थिए । नेपालमा वार्षिक १० करोडको गेप पेपरकोकारोबार हुने गरेको छ । यो सुन्दा कुन शिक्षा मर्मज्ञको कानको जाली फुट्दैन, मस्तिष्कको नसा चुँड्दैन । यो अराजकतामा देखेर ‘नेपालपुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ’ले गत वर्ष आफ्नो भेलामा एक महत्वपूर्ण निर्णय गरेछन् वि।सं। २०७० सम्ममा नेपाली बजारबाटगेस पेपरलाई हटाई छाड्नु पर्छ ।
यसमा उनीहरुको आफ्नो व्यापार घाटा लागेपनि भावी पिंढीलाई ऐजेरु बनेको यो खराब “अन्दाजी कागज”लाई निमूर्ल गर्ने प्रण गरेछन्जुन अत्यन्त प्रशंसनीय छ । उनीहरुले यसमा घतलाग्दो कुरा उल्लेख गरेका रहेछन् गेस पेपरबाट आर्जित कथित ‘ज्ञान’ मदिरालेनिकालेको बलजस्तै खल र क्षणिक हुन्छ, वनमाराले ढाकेको जंगल जस्तै अमङ्गलकारी र कुरुप बन्छ । एतावता अहिलेको सरस्वती जयन्तीदेखि अब हामी सबैले एउटा महासङ्कल्प गरेर शिक्षालाई जीवनपयोगी बनाउँदै सीप, कला र आध्यात्मिक चेतनाको ओंकारमापरिणत गरौं । मनाउँदै गरिएको शारदा जयन्तीले हामी सबैमा सात्विक भावना बढाई वास्तविक रुपमा सरस्वतीका वरद सन्तान बन्नसकौं । अनि मात्र यो दिनको सार्थकताले आकार पाउला । सरस्वती पूजा मिष्टान्नको भुजा मात्र हैन, नानीबाबुका दामको हाम गर्नेबणिक् बाटो बनाउनु हुन्न, आत्म अनुष्ठानको स्वप्निल मुहूर्त हो । आध्यात्मिक उद्बोधनको महापर्व र बोक्रो डिग्री खोक्रो उपाधि रप्राविधिक रुपले विद्वान् बनेका अभिमानी जमातलाई आत्मालोचना तथा आत्मपर्यवेक्षण गर्ने पावन मुहूर्त पनि बनेको छ ।










प्रतिकृया दिनुहोस्