- २१ माघ २०८१, सोमबार २०:३४
पूर्वी पहाडी जिल्ला संखुवासभामा बन्न लागेको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको काम अघि बढेको छ । विश्वविद्यालय निर्माण प्रक्रिया बारे सोमबार जिल्ला समन्वय समिति संखुवासभाले विश्वविद्यालय परिषद्का अध्यक्ष डा. अर्जुन कार्कीसहित स्थानीयसँग छलफल तथा अन्तक्र्रियाको आयोजना गरेको हो । सो अवसरमा डा. कार्कीले हालसम्म समितिले गरेको प्रगति विवरणहरु प्रस्तुत गरेका थिए ।
डा.कार्कीले आफूमा कार्यकारी अधिकार नभएको बताउँदै कुलपति, रजिष्टार र कर्मचारीहरू नियुक्त गर्न कानुनी रुपमा अडचन रहेकाले त्यो सच्याउन सरकारसँग पहल भइरहेको बताए । उनले संखुवासभा र भोजपुर अन्तर्गतका अरुण उपत्यका क्षेत्रमा विश्वविद्यालय सञ्चालनको लागि निकै काम अघि बढिसकेको बताए । ‘हालसम्म संखुवासभा र भोजपुरमा विश्वविद्यालय निर्माणका लागि प्राप्त जग्गाको लेआउट र नापनक्सा भएका छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी भौतिक संरचनाका काम अघि बढ्नेछ ।
शहरी विकास मन्त्रालयका प्राविधिक इन्जिनियरसहितको टोली ल्याई स्थलगत रुपमा सबै जग्गा अवलोकन गरेको छ । अब डिजाइनको काम सुरु हुन्छ ।’ अध्यक्ष कार्कीले भने, ‘खाँदबारीमा जिल्ला समन्वय समितिसँगै रहेको भवनमा विद्यालय विश्वविद्यालयको काम गर्न कार्यालय समेत तोकिएको छ । शिक्षा मन्त्रालयले प्रशासनिक काम हेर्ने जिम्मेवारी संखुवासभा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गोपालमान भण्डारीलाई तोकेको छ । यसले विश्वविद्यालयको काम शुरुवात भएको मान्न सकिन्छ ।’
उक्त विश्वविद्यालय अहिले नेपालमा चलिरहेको विश्वविद्यालयहरु भन्दा फरक हुने अध्यक्ष डा. कार्कीको भनाइ छ । उनले नेपालका मात्रै नभइ विश्वभरका विद्यार्थीले यहाँ आएर इन्जिजियरिङ्ग, वन, विज्ञान र आयुर्वेद पढ्न सम्ने केन्द्रको रुपमा विकास गरिने बताए ।
विश्वविद्यालयको अध्यक्ष बनेपछि भारत, अमेरिका र बेलायतलगायत धेरै देशका विश्वविद्यालय पुगेर स्थलगत अध्ययन गरेको उनको भनाइ छ । त्यहाँ देखेका कुराहरू यहाँ कार्यान्वयन गर्ने प्रयत्न रहने डा. कार्कीको भनाइ छ ।
२२ साउन ०८१ मा बसेको ३७ सदस्यीय परिषद् बैठकले डा. कार्कीलाई अध्यक्ष बनाएको हो । संखुवासभा, भोजपुर र धनकुटाका १९ वटा स्थानीय तहले पठाएको प्रतिनिधि परिषद्मा छन् ।
अन्तरक्र्रियामा स्थानीय तथा सरोकारवालाहरु काजीबहादुर थापा, सरोज बज्राचार्य, मानसिङ्ग पोखरेल, चित्रारेखा कार्की अधिकारी, कुबेरप्रसाद भेटुवाल, दुर्गाप्रसाद बाह्रकोटी, दिनेश कट्टेल, केशव भट्टराई, सिताराम तिम्सिना, बालकुमार तामाङ, ध्रुब खड्का र शेरबहादुर बनलगायतले विश्वविद्यालयको कामलाई गति दिन आग्रह गरेका थिए ।
विश्वविद्यालयको जग्गा खरिदका लागि सरकारबाट जिल्ला प्रशासन कार्यालय संखुवासभाको खातामा केही वर्षअघि नै सात करोड प्राप्त भएको थियो । तिमध्ये ५ करोड ४५ लाख रुपैयाँ खर्च गर्न नसकिरहेको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । उनको अनुसार, संखुवासभा र भोजपुरमा गरि ३७२ रोपनी जग्गा विश्वविद्यालको नाममा प्राप्त भएको बताए ।
भोजपुरमा जन्मिएकी क्रान्तियोद्धा योगमायाको नाममा ‘विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय’ बन्न लागेको हो । विश्वविद्यालय निर्माणको लागि संखुवासभाको खाँदबारी नगरपालिका–९ को ढुङ्गेविसौनी र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रमा गरी कुल ३७२ रोपनी र भोजपुरमा २३३ रोपनी गरी जम्मा ६०५ रोपनी जग्गा खरिद गर्ने र अपुगमा सरकारी जमिनलाई प्रयोगमा ल्याउने जनाएको छ ।
सतिप्रथाको अन्त्यका लागि लड्ने क्रान्तियोद्धा योगमाया न्यौपानेको जन्म १९१७ सालमा भोजपुरको षडानन्द नगरपालिका–१, नेपालेडाँडा मझुवाबेँसीमा भएको थियो । देशमा जगडिएको सतिप्रथा अन्त्यको लागि पटकपटक तत्कालीन राणा सरकारसँंग माग गर्दा पनि कुनै निर्णय नभएपछि योगमायाले अभियान नै सञ्चालन गरेकी थिइन् । सतिप्रथा, छुवाछुत प्रथा अन्त्यको लागि नारा लगाउँदै वि.स.१९९८ साल असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले जलसमाधी लिएका थिए । उनीहरुले समाधी लिएको ठाउँ षडानन्द नगरपालिका–६ मझुवाबेसीमा पर्छ ।










प्रतिकृया दिनुहोस्