- ५ पुष २०८१, शुक्रबार १८:३३
काठमाडाैँ – नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त भएका छन्। नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार लोहनी ४ वर्षका लागि नेपाल विश्वविद्यालयको कुलपतिको पदमा नियुक्त भएका हुन्।
लोहनीले सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदकसहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका छन्।
साथै उनले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैँककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन्।
नेपाल सरकारको निजामती सेवाबाट आफ्नो पेशागत जीवन सुरु गरेका लोहनी एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एशियाली विकास बैँकमा विभिन्न महत्वपूर्ण पदमा ३० वर्ष कार्यरत रहेका थिए। पछिल्लो चरणमा एसियाली विकास बैँकको उपाध्यक्षको जिम्मेवारी बहन गरेका थिए।
डा. लोहनीका विकास र वातावरण बारेमा विभिन्न कृतिहरू प्रकाशित छन्। विकास, वातावरण र व्यवस्थापनको क्षेत्रमा अन्तर्राष्ट्रिय तहमा एक प्रवुद्ध व्यक्तित्वको रूपमा परिचित डा. लोहनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानबाट विभूषित पनि छन्।










प्रतिकृया दिनुहोस्