- २५ मंसिर २०८१, मंगलवार १८:००
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्त गर्दा खुला प्रतिस्पर्धा (मेरिटोरेसी) लागू हुनुपर्ने कांग्रेसको धारणा रहेको बताएका छन् ।
प्राज्ञ समूहद्वाराआज काठमाडौंमा आयोजित ‘प्राज्ञिक विमर्श’ कार्यक्रममा नेता महरले सबै विश्वविद्यालय र प्रतिष्ठानमा मेरिटोक्रेसी लागू हुनुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘व्यक्तिगत रूपमा पनि मैले डेढ दशकदेखि मेरिटोक्रेसीका आधारमा विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुनुपर्ने आवाज उठाउँदै आएको छु । विश्वविद्यालयको स्वायत्तता र गरिमा बढाउने पक्षमा दृढतापूर्वक नेपाली कांग्रेस उभिँदै आएको छ।’ शिक्षाको उन्नयनका लागि कांग्रेसले देशव्यापी रूपमा शिक्षा नीति बहस अभियान सञ्चालन गरेको महरको भनाइ थियो ।
त्रिभुवन विश्वविद्यालय मात्र नभएर नेपालका सबै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारीको नियुक्ति प्रतिस्पर्धाका आधारमा हुँदा उच्च शिक्षालाई विश्व प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सकिने नेता महरको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयलगायतमा पदाधिकारी नियुक्ति प्रक्रियामा भइरहेको ढिलाइप्रति इंगित गर्दै उनले भने, ‘विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा मेरिटोरेसीलाई हात्तीको देखाउने दाँत मात्र नबनाई यसको ध्येय पूरा गर्न सरकार र विश्वविद्यालयका पदाधिकारी गम्भीर हुनुपर्छ।’ यस्तै, महरले त्रिविको १४ सय रोपनी जग्गा हिनामिनामा संलग्नमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।










प्रतिकृया दिनुहोस्