- १७ मंसिर २०८१, सोमबार १०:३४
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेल हेर्न पुगेका दर्शकसँग स्वतन्त्र विद्यार्थी युनियनका नाममा विद्यार्थीले पार्किङ शुल्क उठाउन थालेका छन् । विश्वविद्यालय परिसरमै मोटरसाइकल, गाडीलगायत सवारीसाधन पार्किङ गरेको शुल्क उठाएको भन्दै आलोचना भएको छ ।
आयुर्वेद क्याम्पस कीर्तिपुर स्ववियुले रसिद नै छपाएर खेलको पहिलो दिन शनिबार शुल्क उठाएको थियो ।
रसिदमा मोटरसाइकलको ५०, कार/जिपको एक सय र हेलमेटलगायत सामग्रीको ३० रुपैयाँ शुल्क लाग्ने उल्लेख छ । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न गएका दर्शकसँग ‘त्रिवि पार्किङ’ भनेर त्रिवि केन्द्रीय क्याम्पस स्ववियुका केही विद्यार्थीले पनि मनोमानी रूपमा पार्किङ शुल्क उठाएको पाइएको छ । विद्यार्थीहरू रसिद लिएर शुल्क उठाउन खेल मैदान बाहिरको पार्किङ क्षेत्रमा खटिने गरेका छन् ।
केन्द्रीय क्याम्पसका स्ववियु अध्यक्ष श्यामराज ओझाले अनधिकृत व्यक्तिले विश्वविद्यालय हातामा प्रवेश गरेर यसअघिका खेलदेखि नै शुल्क उठाउँदै आएको बताए । अनधिकृत व्यक्तिले उठाउनुभन्दा विद्यार्थीलाई इन्टर्नसिपमा जोड्ने गरी शुल्क लिन लागिएको उनले जनाए ।
शुल्क उठाउने छलफल मात्र भएको तर नउठाएको उनले दाबी गरे । ‘बाहिरी मान्छे आएर एउटा हेलमेट राखेको ५० रुपैयाँ उठाउँथे । हामीले विश्वविद्यालयको जग्गामा विद्यार्थीले न्यूनतम शुल्क लिएर पार्किङ गर्ने भनेका थियौं,’ उनले भने, ‘त्यसको विरोध भयो । स्ववियुले शुल्क नलिने भनेको छ ।’
स्ववियुका एक पदाधिकारीले भने शुल्क उठाउने विषयमा कुनै छलफल र निर्णय नभएको तर स्ववियुका नाममा शुल्क उठाएकाका गुनासो गरे । अध्यक्ष ओझाले आफूनिकट विद्यार्थीलाई रकम उठाउन खटाएको उनीहरूको आरोप छ । स्ववियुले प्रहरीसँग मिलेर एनपीएलका बेला पार्किङ व्यवस्थित गर्ने भनेर विश्वविद्यालय क्याम्पसलाई यसअघि नै जानकारी पठाएको थियो ।
क्याम्पस प्रमुख ध्यानेन्द्र राईले पार्किङ स्ववियुले व्यवस्थित गर्ने भने पनि के कसरी व्यवस्थित गर्ने भन्ने विषयमा जानकारी नभएको बताए । ‘नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट मैदान विश्वविद्यालयसँग सम्झौता गरेर लिएको हो । आयोजक पनि क्यान नै हो,’ उनले भने, ‘पार्किङ व्यवस्थापन क्यानले नै गर्नुपर्छ । त्यसमा विश्वविद्यालय र क्याम्पस संलग्न छैन ।’










प्रतिकृया दिनुहोस्