- ११ जेष्ठ २०८१, शुक्रबार ०८:५७
काठमाडौँ । पछिल्लो १ दशक यता नेपालमा व्यवस्थापन संकाय ४७ प्रतिशत विद्यार्थीहरू अध्ययन गर्ने गरेका छन् ।
कक्षा १२ उत्तीर्ण गरेपछि बैंक, वित्तियसंस्था लगायत व्यवस्थापन क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीको रोजाइमा व्यवस्थापन संकाय अन्तर्गतका विषयमा रोजाइमा पर्ने गरेका छन्।
नेपालमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, गण्डकी विश्वविद्यालयले व्यस्थापन संकायका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। विश्वविद्यालयहरूले ब्याचलर इन बिजनेश स्टडिज(बीबीएस), ब्याचलर इन बिजनेश एडमिनिस्ट्रेसन (बीबीए)मात्र नभएर व्यवस्थापन संकाय अन्तर्गतका विभिन्न विधामा विशेषज्ञता हासिल गराउने उद्देश्यले ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), होटल व्यवस्थापन (बीएचएम), ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्ट (बीएचसीएम), ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम), ब्याचलर इन स्पोर्टस मयानेजमेन्ट (बीएसएम), ब्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट (बीआईएम) लगायतका विषयको अध्यापन हुन्छ।
यसका साथै नेपालमा व्यवस्थापन तर्फ विषयगत दक्ष जनशक्ती उत्पादन गर्ने उद्देश्यले ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन बैंकिङ एन्ड इन्स्योरेन्स ( बीबीएबीआई), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन ट्राभल एन्ड टुरिजम(बीबीएटीटी), ब्याचलर इन कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम (बीसीआईएस) बीबीए (फाइनान्स) लगायतका विषय अध्यापन गराउँदै आएका छन्।
यी कार्यक्रम विश्वविद्यालयका केन्द्रीय क्याम्पसका अलावा आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले पनि सञ्चालन गर्ने गरेका छन्। स्नातक तहमा व्यवस्थापकीय ज्ञानसँगै सैद्धान्तिक विषयलाई पनि व्यावहारिक र रोजगारमुखी बनाउन नयाँ विषय थप्ने क्रम चलिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा दक्ष जनशक्तीको माग भएका नयाँ विषयमा नीजी शिक्षण संस्थालाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्न चुनौति थपिएको हिसानका अध्यक्ष एवं गोल्डेन गेट कलेजका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवालले बताए।
उनका अनुसार ‘विश्वविद्यलायले दिएको मापदण्ड भित्र रहेर नीजी शिक्षणसंस्थाले पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। व्यवस्थापन संकायतर्फ विद्यार्थीको रुचि भएपनि बजारको माग अनुसार विश्वविद्यालयले नयाँ विषयको पाठ्यक्रम अपडेट गर्नुपर्छ। अहिले विद्यार्थी नेपालमा भन्दा पनि विदेशि शैक्षिक गन्तव्यको खोजिमा छन्। विद्यार्थी विदेशीयसँगै नेपालमा पनि दक्ष जनशक्ती अभाव छ। त्यसैले नेपालमा नै गुणस्तरीय शिक्षा प्रदान गरेर नेपालमा नै पढ्ने र रोजगारी गर्ने वातावरण बनाउन आवश्यक छ।’
नेपाली विश्वविद्यालय मात्र होइन नेपालमा विदेशी विश्वविद्यालयको संम्बन्धनमा सञ्चालित कलेजमा पनि विद्यार्थीले व्यवस्थापन संकाय अन्तर्गतका विषय अध्ययन गर्ने गरेका छन्। विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर पनि नेपालमा बीबीए, एमबीए, बीआईटी, बीएचएम जस्ता व्यवस्थापन संकायका विषय नीजी कलेजहरूले सञ्चालन गर्दै आएका छन्।










प्रतिकृया दिनुहोस्