- १३ बैशाख २०८१, बिहीबार ०९:२०
वैचारिक बहसको मञ्च डिस्कोर्स डबली सुरूआतको १० वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा २ दिने विचार उत्सवको आयोजना हुने भएको छ ।
नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा हुने विचार उत्सवमा वैशाख २२ र २३ गते बहसका विभिन्न सत्र सञ्चालन हुने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले जानकारी दिए ।
दुई दिन सञ्चालन हुने विचार उत्सवमा २० वटा सत्रमा नेपाल र भारतका करिब ८० जना वक्ता सहभागी हुनेछन् । समसामयिक राजनीति, विश्वविद्यालयका समस्या, युवा जनशक्तिको विदेश पलायन, सिनेमा, पर्यावरण, साहित्य, संगीत, कला, शहरी सौन्दर्य लगायतका २ दर्जन विषयमा बहस हुनेछ ।
कार्यक्रममा राजनीतिज्ञ, लेखक, विश्लेषक, प्राध्यापक, कलाकार, कवि, चलचित्र निर्देशक लगायतले आ-आफ्नो विषयमा बहस गर्नेछन् ।
कार्यक्रममा लेखक तथा विश्लेषक सिके लालले ‘बौद्धिकताको कसीमा नेपाली समाज’ शीर्षकमा मूलप्रवचन दिने छन् । यस्तै, भारतको बद्लिँदो राजनीतिबारे दिल्ली विश्वविद्यालयका सह-प्राध्यापक तथा विश्लेषक डा.सरोज गिरीले बहस गर्नेछन् ।
डिस्कोर्स डबली २०७१ सालमा रत्न राज्य क्याम्पस, ल क्याम्पस लगायतका कलेजमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा सुरूवात भएको थियो । यसपछि मासिक रूपमा बहस शृङ्खला यो मञ्चले सञ्चालन गर्दै आएको थियो ।










प्रतिकृया दिनुहोस्