- १७ पुष २०८०, मंगलवार ०७:५८
काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ। ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत बैङ्कले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।
यी छात्राहरूलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैङ्कले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ। यस कार्यक्रम अन्तर्गत बैङ्कले प्रत्येक प्रदेशबाट ५ जना जेहेन्दार छात्राहरू छनौट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गर्नेछ। यो कार्यक्रम अन्तर्गत बैङ्कले अहिलेसम्म १०५ जनालाई उक्त छात्रवृत्ति व्यवस्था गरी छात्राहरूको शैक्षिक गुणस्तरमा योगदान गरिरहेको छ।
समाजको विकासमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतना स्तर अभिवृद्धि हुनुका साथै महिलाहरू आर्थिक रूपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैङ्कले जनाएको छ। यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बिचमै विद्यालय छाड्न बाध्य छात्राहरूलाई न्यूनतम विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैङ्कको विश्वास छ। बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ।










प्रतिकृया दिनुहोस्