- १२ पुष २०८०, बिहीबार ०९:२४
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीहरूले त्रिविको वार्षिक कार्यक्रमअनुसार परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नुपर्ने भन्दै प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा बल्खुस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
स्ववियुले राजनीतिक दबाब र प्रभावमा पदाधिकारी तथा कर्मचारी नियुक्ति बन्द गर्नुपर्ने, परीक्षा र नतिजा प्रकाशन वार्षिक कार्यतालिका अनुसार हुनुपर्ने, परीक्षा प्रणालीलाई डिजिटलाइजेसन गर्नुपर्ने, क्षमतायुक्त कर्मचारी नियुक्त गर्नुपर्ने, सेवाग्राही विद्यार्थीको चाप हुने कार्यालयमा खाजा समय आधा घण्टामात्रै राख्नुपर्ने लगायत माग गरेको छ ।
स्ववियू सभापति श्यामराज ओझाले विश्वविद्यालयमा कायम रहेको बेथितिलाई अन्त्य गर्न माग गर्दै आन्दोलन प्रारम्भ गरिएको बताए । ‘त्रिभुवन विश्वविद्यालय सबै खाले बेथितिबाट थलिएको छ । कुनै पनि काम थितियुक्त ढंगले सञ्चालन हुन सकेको छैन । पदाधिकारी नियुक्तिदेखि सबै खाले नियुक्तिमा राजनीतिक दबाब र प्रभाव हाबी छ, दक्ष र क्षमतायुक्त कर्मचारीहरु छैनन्,’ उनले भने, ‘एउटामात्रै समस्या होइन, हामीले समग्र विश्वविद्यालयलाई नयाँ प्रणालीबाट अघि बढाउन माग गरेका छौँ ।’










प्रतिकृया दिनुहोस्