- ३० आश्विन २०८०, मंगलवार १६:२२
सिमकोट- डिप्लोमा सिभिल इन्जिनियरिङ विषयमा पठनपाठन हुने जिल्लाको एउटा मात्र विद्यालयमा यसवर्ष विद्यार्थी भर्ना नै नहुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ।
जिल्लाको सिमकोट गाउँपालिका- ६ मा रहेको मानसरोवर नमुना माध्यामिक विद्यालयमा भर्ना खोले पनि विधार्थीहरू नआउँदा यस शैक्षिक सत्रको पहिलो सेमेस्टरका लागि भर्ना कार्य नभएको हो।
उक्त विद्यालयमा प्रधानाध्यापक अम्मरबहादुर शाहीले यस शैक्षिक सत्रमा प्राविधिक धारतर्फको डिप्लोमा सिभिल इन्जिनियरिङ विषयका लागि भर्ना खोल्दा एक जना पनि विद्यार्थी नआउदा नयाँ भर्ना कार्य हुन नसकेको जानकारी दिए। जसले गर्दा आगामी वर्ष यस विषयको पठनपाठन बन्द हुने अवस्थामा रहेको हाे।
उनले निर्धारित कोटाको विद्यार्थी संख्या नपुगेको कारण आर्थिक रूपमा पनि विद्यालय उक्त विषयको पठनपाठन गर्न नसकिने अवस्थामा पुगेको बताए।
सिटिइभिटीको नियमअनुसार एउटा सेमिस्टर सञ्चालन गर्नका लागि ४८ जना विद्यार्थीहरू आवश्यक पर्नेगर्छ। विद्यालयमा उक्त विषय पठनपाठन हुन थालेको पाँच वर्ष पुगेको छ। सम्बन्धन पाएर पठनपाठन सुरु भएयता हाल दोस्रो सेमेस्टरमा १४ जना, तेस्रोमा तीन जना, चौंथोमा ४ जना र पाँचौंमा दश जना विद्यार्थीहरू अध्ययन गर्दै आएका छन्।
विद्यालयले तीन वर्षे कोर्षका लागि एक जना विद्यार्थीहरू दुई लाख पचास हजार रुपैयाँ शुल्क लिने गरेको छ।
विद्यालयले अध्ययनका लागि अनुमति पाएको ४८ जना विद्यार्थीहरूमा २४ जना पुगे प्रस्तावना पेश गरे सिटिइभिटीबाट सातदेखि दश लाख अनुदान पाउने अवसरबाट पनि यसअघि विद्यार्थीहरू नपुगेकाे कारण सो सुविधाबाट पनि विद्यालय बञ्चित हुँदै आएको छ।
हाल विद्यालयले ४२ विषय पठनपाठन गर्दै आएकोमा दुई जना प्रशिक्षकलाई एउटा विषयका कोष सकेजापत पचास हजार, आंशिक शिक्षकलाई पैंतालिस हजार दिने गरेको छ।










प्रतिकृया दिनुहोस्