- ११ फाल्गुन २०७९, बिहीबार १६:२५
काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालले विद्यार्थीहरूमा संस्कृति बोध गराउने उद्देश्यले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७९ आयोजना गर्ने भएको छ ।
नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले यही फागुन १२ गते, शुक्रवारका दिन काठमाडौंको टुँडीखेलमा कार्यक्रम आयोजना गरिने भएको हो । उपत्यकाका विभिन्न विद्यालयबाट सहभागिता जनाउन आएका विद्यार्थीहरूको परीक्षा र विविध सांस्कृतिक प्रस्तुति गरी कार्यक्रमका दुईवटा स्वरूप हुने संयोजक प्रा.डा. सीताराम अधिकारीले जनाउनु भएको छ ।
काठमाडौँ विश्वविद्यालयका संस्थापक रजिष्ट्रार समेत रहनुभएका प्रा.डा. अधिकारीले भन्नुभयो— ‘परीक्षामा बहुवैकल्पिक उत्तरसहित ५० वटा प्रश्न सोधिने छ । सबै प्रश्नको सही उत्तर मिलाएर शतप्रतिशत अङ्क प्राप्त गर्नेमध्येबाट गोलाप्रथाका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेता छनोट गरिने छ ।’

कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘स्वामी विवेकानन्दका विचार अनुसार कुनै पनि प्रकारको शिक्षाको उद्देश्य आत्मगौरवको प्रकटीकरण नै हो । आजका विद्यार्थीमा यो गौरव भाव प्रकट हुनसक्यो भने उनीहरू नै यस देशका आदर्श नागरिक बन्नेछन् । स्वामीजीका यिनै विचारलाई मनन गर्दै हाम्रा विद्यार्थीहरूलाई धर्म, नैतिकता, संस्कृति, नीति, राष्ट्रियता जस्ता विषयका साथै ज्ञान–विज्ञानका विभिन्न क्षेत्रमा तथा मानवताको विकासका लागि हाम्रा पूर्वजहरूको अद्वितीय योगदानबारे बोध गराउने उद्देश्यका साथ हिन्दू स्वयंसेवक संघ नेपालले वार्षिक रूपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गर्दैआएको छ ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा प्रमुख अतिथि रहनुहुने कार्यक्रमका संयोजकले जनाउनुभएको छ ।
संघले वि.सं. २०७१ बाट निरन्तर रूपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गर्दैआएको छ । कोभिड महामारीका कारण दुई वर्ष अवरुद्ध भएको यो कार्यक्रमलाई संघले पुनः निरन्तरता दिएको छ ।










प्रतिकृया दिनुहोस्