- ६ माघ २०७९, शुक्रबार १२:४८
हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा माग ०८ गते बुढानीलकण्ठ नगरपालिकाले भव्य कार्यक्रम आयोजना गरी मनाउन लागेको छ ।
ल्होछार पर्वको अवसर पारेर नेपाली चाड, पर्व तथा संस्कार-संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले नगरपालिकाको मुल आयोजनामा विभिन्न साँस्कृतिक झाँकि सहित नगर स्तरीय ल्होछार विशेष कार्यक्रम हुन लागेको जानकारी आज सञ्चारकर्मी भेटघाट कार्यक्रम मार्फत नगरपालिकाले सार्वजनिक गरेको हो ।
नगरपालिका स्वयंको आयोजनामा हुन लागेको कार्यक्रम व्यवस्थापनको लागी उपप्रमुखको संयोजक्तवमा १५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । जस अन्तरगत वडा नं ०५ का दोर्जे लामाको संयोजकत्वमा ८ उपसमिति रहेका छन् ।
ल्होछार पर्वको दिन माघ ०८ गते (आईतबार) बिहान नगरपालिकाका विभिन्न स्थानमा जम्मा भई र्याली सहित वडा नं ०८ स्थित गोल्फुटार बास्केटबल मैदानमा भेला हुने संयोजक अनिता लामाले जानकारी दिनु भयो ।
र्यालीमा जम्मा हुने स्थानहरुः
- वडा नं १, २, ३, ४ र ५- नारायण्स्थान स्थित मिलचोकमा भेला हुने,
- वडा नं ६ र ७ – हात्तिगौडा चोक,
- वडा नं ०८ र ०९- गोल्फुटार स्थित वडा नं ०८ कार्यालय भवन,
- वडा नं १०, ११, १२ र १३ – कपन ह्याण्डबल मैदान ।
“कार्यक्रममा नगरपालिकाका तामाङ्ग, शेर्पा, राई, नेवार, ब्राम्हण लगायत विभिन्न जातिय/ धार्मिक समुदायबाट मौलिक कला, संस्कृति तथा भेषभुसाहरु प्रदर्शन हुनेछन्”, उपप्रमुख लामाले जोड्नुभयो, “कार्यक्रम स्थलमा स्थानीय संस्कृति झल्काउने किसिमका खानेकुराका स्टल, मनोरञ्जनका सामाग्री एवं कला प्रदर्शनीका लागी मञ्च राखिने छ” ।
नगर प्रवक्ता नवराज भट्टराईको नेतृत्वमा भएको आजको सञ्चारकर्मी भेटघाट कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा लगायत विभिन्न वडाका वडा अध्यक्ष, नगरपालिकाका कर्मचारी, कार्यक्रम व्यवस्थापन समितिका सदस्यहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।










प्रतिकृया दिनुहोस्